टाटा मोटर्सले आफ्नो पहिलो नयाँ क्रसओभर ह्याचव्याक टियागो एनआरजी आज बुधबार सेप्टेम्बर १२ मा भारतीय बजारमा सार्वजनिक गरेको छ ।
एसयूभी जस्तो लाग्ने विभिन्न स्टाईलको कारण टियागो एनआरजीले निकै राम्रो ब्यापार गर्ने कम्पनीले जनाएको छ । लञ्च भएसँगै ब्रेड एन्ड बटर मोडलमा टियागो इनर्जी (एनआरजी) को बिक्री–वितरण सुरु भएको छ ।
टियागो इनर्जीले मारुती सेलेरिओ एक्स, हुन्डाई आई २० इलाइट र फोर्ड फिगो फ्रिस्टाईलसँग प्रतिस्पर्धा गर्ने छ । कम्पनीले यो क्रसओभरलाई अफरोडर ब्रान्ड बनाउन नयाँ स्टाइलको साथै १८० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गरेको छ ।
टाटा टियागो इनर्जीको फ्रन्ट र रियर डिफ्यूजरमा सिल्भर फिनिङ गरिएको छ भने ड्यूल टोनफोर–स्पोर्क १४ इञ्च एलोय–ह्वील दिइएको छ । साथै, यस गाडीमा स्मोक्ड्–हेडल्याम्प जडान गरिएको छ । उत्कृष्ट टेलगेट बनाईएको यसको छतमा भने ब्ल्याक फिनिङ दिइएको छ ।
टियागो इनर्जीमा एमआईडी इन्स्ट्रुमेन्ट कन्सोल, कुल ग्लोभ–बक्स, एड्जस्टेवल ड्राइभर सिट, पाँच इञ्च टचस्क्रिन इनफोटेन्मेन्ट सिस्टम, थ्रीडी नेभिगेसनका साथै ८–स्पिकर हार्मन अडियो स्पीकरजस्ता विशेषताहरू राखिएको छ ।
टियागो इनर्जी सिङ्गल ट्रिम लेभलमा सार्वजनिक हुने अनुमान गरिएको छ । यस गाडीमा पेट्रोल तथा डिजेल दुवै इन्जिन दिइएको छ । यस गाडीमा १.२ लिटर तीन सिलिन्डर रेभोर्टन पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको इञ्जिनले ८५ पीएस पावरकासाथै ११४ एनएम टर्क उत्पादन गर्छ । साथै टियागो इनर्जीमा १.०५ लिटर डिजेल इञ्जिन दिइनेछ, जसले ७० पीएस पावरकासाथै १४० एनएम टर्क उत्पादन गर्छ । यस गाडीमा पाँच स्पीड म्यानूअल ट्रान्समिसन जडान गरिएको छ । कम्पनीले यस कारको मूल्य भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।
नेपालमा कहिले ?
टाटाको यो नयाँ क्रसओभर कार तिहारपछि आउने अनुमान गरिएको छ । टाटाको नेपालको लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले बिक्री वितरण गर्दै आएको छ । कम्पनी स्रोतका अनुसार चार्डपर्व सकिएसँगै नेपाली बजारमा आउने छ ।

