काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने र बढी भाडा असुल्ने ट्याक्सी चालकको लाइसेन्स खारेज गर्ने भएको छ । महाशाखाले यात्रुसँग बढी भाडा लिनको लागि मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकहरुलाई कडा कारवाही गर्ने भएको हो ।
महाशाखाले ५ पटकसम्म मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई ६ महिना ट्याक्सी चलाउन नपाउने गरि लाइसेन्स निलम्बन गर्ने भएको हो । गत बिहीबारदेखि कार्यान्वयनमा आएको यस नियम बमोजिम ५ सय ट्याक्सी चालक कारबाहीमा परेका छन् ।
महाशाखाका प्रवक्ता जयराज सापकोटाले गत विहीबारदेखि लागू भएको नियम अनुसार दैनिक १ सयको हाराहारीमा मिटरमो ट्याक्सी चालक कारबाहीमा परेको जानकारी दिए ।
‘सर्वसाधरणबाट निक्कै गुनासो आएपछि हामीले अभियान नै सुरु गरेका हौं । कारर्वाहीमा परेका चालकको विवरण संकलन गरिन्छ । पाँच पटकसम्म तीन हजार जरिवाना लिइन्छ । यदि, छैठौं पटक कारबाहीमा परे लाइसेन्सनै खारेज हुन्छ ।’ सापकोटाले मेरोअटोसँग भने ।
यसको अनुगमनका लागि ५० जनाभन्दा धेरै ट्राफिक प्रहरी खटाइएको सापकोटाले बताए । यसैबीच फ्लोरिसेन्ट ज्याकेट नलगाउने माइक्रोका चालक तथा सहचालक कार्वाहीमा पर्न थालेका छन् ।
फ्लोरिसेन्ट ज्याकेट नलगाउने माइक्रोका चालक तथा सहचालकलाई ५ सय रुपैयाँ जरिवाना तिराइने पनि ट्राफिक प्रहरीले जनाएको छ ।

