नेपाल आयो बिएमडब्ल्यूका बाइक, टेष्ट राईड सुरु, यस्तो छ मूल्य

काठमाडौं । जर्मनीको अटोमोबाइल्स कम्पनी बिएमडब्ल्युद्धारा उत्पादित जी–३१० आर र जी–३१० जीएस मोटरसाइकल नेपाली बजारमा आईपुगेको छ । टर्क मोटर्सले नेपाली बजारमा ल्याएको यी बाइकहरुकाे टेष्ट राईड खुल्ला गरेको छ ।

कम्पनीले आगामी शनिबारसम्म यसको टेष्ट राईड गराउने जनाएको छ । इन्ट्री लेवल सेग्मेन्टमा भारतीय प्लान्टबाट उत्पादन गरिएको यो बाइक आगामी शुक्रबारबाट औपचारीकरुपमा बिक्री वितरण सुरु हुनेछ । 

उत्कृष्ट डिजाइन, आकर्षक बडी र उच्च पर्फमेन्सका कारण बिएमडब्ल्यूका बाइक संसारभर चर्चित छन् । त्यस्तोमा कम्पनीले इन्ट्री लेवलका जी–३१० का दुई मोडललाई आर्कषक बनाउन कुनै कसर बाँकी राखेको छैन । 

यी बाइकमा सार्प र सिल्क बडी, सिंगल–स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ, जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले ढाकिएको छ । टेकोमिटर, स्पीडोमीटर, ओडोमिटर, फियुल गेज, गियर इन्डिकेटर, एबीएस सिग्नलका साथ अन्य थुप्रै रेगुलर फिचरहरु रहेको छ । 

दुबै बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर, फोरभल्भ इन्जिनको प्रयोग गरिएको छ ।  उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र  ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ । 

जी–३१० जीएसको तौल १६९ केजी रहेको छ भने जी–३१० आरको तौल १५८.५ किलोग्राम रहेको छ । दुबै बाइकमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । यी बाइकको टप स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ । 

बाइकमा राइडिङ्ग क्षमतासंगै उत्कृष्ट ब्रेकिंग सिस्टम दिइएको कम्पनीको दाबी छ ।  यसको फ्रन्ट र रियरमा १७ इन्च अलोय ह्वील दिइएको छ भने, डबल च्यानल एबीएस र अगाडि ३०० एमएम डिस्क ब्रेक र रियरमा २४० एमएमको सिंगल पिस्टोन क्यालिपर जडित डिस्क ब्रेक दिइएको छ । 

विभिन्न तीन कलर अप्शनमा उपलब्ध यस बाइकको मूल्य कलर अनुसार फरक रहेको छ । प्रायःजसो प्रिमियम ब्रान्डले कलर अनुसार मूल्य राख्ने गरेको पाइन्छ । 

कम्पनीले जसमध्ये रातो र कालो रंगका मोडल जी–३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ ।

त्यसैगरी रातो र कालो रंगमा बजारमा आएको बिएमडब्ल्यु जी–३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने, सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ । 


Back_to_top