भारत सरकारले घोषणा गरेको दुई पाङ्ग्रे सवारीसाधनमा नयाँ सेफ्टी नियम लगु गर्ने समय नजिकिएसँगै कम्पनीहरुले नयाँ सुरक्षा मापदन्ड अनुसार बाइकहरुमा एबीएस फिचर दिन थालेका छन् । भारतीय र नेपाली बजारमा समेत निकै चर्चित बाइक पल्सरले पनि आफ्नो पल्सर सिरिजमा एबीएस दिने कामलाई अन्तिम चरण पुर्याएको छ ।
बजाजले जनवरीको अन्तिमसम्ममा एबीएससहितको पल्सर सर्वजनिक गर्न लागेको छ । उसले बिभिन्न चरणमा एबीएससहितको बाइकको सडक परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएको छ ।
तस्बिरमा देखिएको बाइक १५० सीसी वा १८० सीसी मध्य एक भएको भारतीय अटो मिडिया बाइकवाले उल्लेख गरेको छ । बाइकलाई पुरै कभरले छोपिएको अवस्थामा देखिएकाले कुन बाइक हो भन्ने छुट्याउन कठिन भएको उल्लेख छ । तर, यसमा दिइएको फियुल ट्याङ्कीको आकार हेर्दा यो बाइक पल्सर १५० नै हुनुपर्ने जिकिर गरिएको छ । यसमा दिइएको ट्याङ्की पल्सर १५० ट्वीन डिस्कको जस्तै रहेको छ ।
कम्पनीले पल्सर १८० सीसीलाई अपग्रेड गरिरहेको आधिकारीक जानकारी पहिल्यै दिएकाले उक्त बाइक १८० पल्सर पनि हुनसक्ने अनुमान गरिएको हो । कम्पनीले आफ्ना १२५ सीसीभन्दा माथिका सबै मोडलमा अबको ४ महिना भित्र एबीएस सिस्टम दिने जनाएको छ । पल्सर १५०, १८० र २२० एफमा सिंगल च्यानल एबीएस उपलब्ध हुनेछ ।
एबीएससहित आउने पल्सर पुरानोको तुलनामा केही महंगो हुने निश्चित छ । कम्पनीले एउटा बाइकमा करिब ८ हजार भारतीय रुपैयाँ मूल्य वृद्धि गर्नेछ । जसको असर नेपाली बजारमा समेत पर्नेछ । नेपाली बजारमा एबीएससहित आउने पल्सरको मूल्यमा करिब २५ हजार रुपैयाँ मूल्यमा फरक पर्ने देखिन्छ ।


