सन् २०१९को सुरुवातसँगै तीन ठुला अटो उत्पादक कम्पनी टाटा निशान र मारुती सुजुकीले आगामी केही समयमा नै नयाँ मोडल सार्वजनिक गर्ने भएका छन् । यी तिनवटै कम्पनीले ल्याउने टाटा ह्यारीयर, निशान किक्स र मारुती सुजुकी वागेन–आरलाई बजारमा उतार्ने छन् ।
नयाँ आउँदै गरेका गाडीहरुको विशेषता र फिचरहरु यस्ता रहेका छन् ।
टाटा ह्यारिएर
टाटा मोट्र्सले आगामी जनवरीमा टाटा ह्यारिएर सार्वजनिक गर्ने घोषणा गरेको छ । ह्यारियरको मिडिया रिभ्यू भने कम्पनीले डिसेम्बरको सूरुवातमै गरिसकेको छ । टाटाको यस प्रिमियम एसयूभीमा एफसीएको २.० लिटर मल्टिजेट आईआई डिजेल इन्जिन लगाइएको छ । यसले अधिकतम् १४० बीएचपी पावरकासाथै ३५० एनएम–टर्क उत्पादन गर्छ ।

यसको इन्जिनमा सिक्स–स्पीड म्यानूअल र अटोमेटिक दुबै ट्रान्समिसन अप्शन दिइएको छ । यो एसयूभीको मूल्य करिब १५ देखि २० लाख भारतीय रुपैयाँमा बिक्री–वितरण हुने अनुमान गरिएको छ ।
कम्पनीले अहिले ह्यारीयरलाई ५ सिट अप्सनमा बजारमा ल्याएको छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल र टाटाको अन्य मोडलमा उपलब्ध स्टेरिङ्ग ह्वील लगाइएको छ । ह्यारियरमा सुपर–ड्राइभ मोडसमेत उपलब्ध रहेको छ । जसमा कम्फर्ट, अटो, डायनामिक र रफ–रोड गरी चार ड्राइभिङ अप्शन उपलब्ध रहेको छ ।
निशान किक्स
निशानले आफ्नो नयाँ कम्प्याक एसयूभी किक्सलाई २०१९ को जनवरीमा सार्वजनिक गर्ने भएको छ । यसको लम्बाई र ह्वीलवेश पनि रेनो–डस्टरको जस्तै रहेको छ ।
फाइभ–सिट क्षमताको यस एसयूभीमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टमकासाथै अन्य धेरै प्रिमियम फिचरहरू रहेको जनाइएको छ । यो गाडी पेट्रोल र डिजल दुवै भर्सनमा उपलब्ध हुनेछ ।

पेट्रोल भर्सनमा १.५ लिटरको इन्जिन रहनेछ, जसले १०४ बीएचपी पावर प्रदान गर्नेछ भने फाइभ–स्पीडको सीभीटीसहितको म्यानूअल गियरबक्समा बजारमा आउनेछ । डिजल भर्सनमा पनि १.५ लिटरको इन्जिन रहनेछ, जसले १०८ बीएचपी पावर उत्पादन गर्नेछ । यसमा सिक्स–स्पीडको म्यानूअल ट्रान्समिसन रहनेछ ।
यसको भारतीय बजारको मूल्य ९ लाख ५० हजार देखि १५ लाखसम्म हुने अनुमान गरिएको छ । यसलाई नेपालमा पायोनियर मोटर्सले जनवरीमा नै सार्वजनिक गर्ने बताएको छ ।
मारुती सुजुकी वागेन–आर
मारुती सुजुकीले आफ्नो थर्ड जेनेरेशनको वागेन–आर सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस गाडीलाई सन् २०१९ को फस्र्ट क्वाटरमा सार्वजनिक गर्ने जनाएको हो । वागेन–आरमा फस्र्ट जेनेरेशन मोडलमा प्रयोग गरिएजस्तै बक्सी डिजाइनको प्रयोग गरेको छ । नयाँ वागेन–आर पहिलेको तुलनामा केही ठूलो हुनेछ । यसको सी–पिल्लर र बी–पिल्लरमा ब्ल्याक–कलर दिइएको छ भने रियर–इन्डमा एक्समेस–ट्री स्टाइलको टेललाइट दिइएको छ ।

नयाँ मारुती वागेन–आर सेकेन्ड जेनेरेशनको मोडेलभन्दा बढी सुरक्षित रहेको अनुमान गरिएको छ । मारुती वागेन–आरमा भारतीय इमिसन मापदन्ड बीएस–६ अनुसारको इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ६७ बीएचपी पावर र ९० एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियरबक्स दिइएको छ ।


