काठमाडौं । उपत्यकाभित्रका मुख्य बाटोहरूमा नै फूटपाथ छेकेरै काम गरिरहेको थुप्रै देख्न पाइन्छ । नयाँ बानेश्वरको संसद् भवन नजिकै फूटपाथ नै बन्द गरेर घर बनाउने काम भइरहेको छ । यस विषयमा सरकारी निकाय भने अनविज्ञ छन् । अहिले फूटपाथको अभावमा पैदलयात्रीले जोखिम मोलेरै सडकबाट हिँड्न बाध्य भएका छन् ।
फूटपाथ नै छेकेर घर बनाउँदै गरेका घरधनी प्रेम बासुकलाले आफूहरूले सम्बन्धित निकायलाई मौखिकरुपमा जानकारी गराएको बताए । घर भत्काएर नयाँ नबनुञ्जेलसम्मका लागि फूटपाथ रोक्नुपर्ने भएकाले सम्बन्धित निकायलाई जानकारी गराएको उनले मेरोअटोलाई बताए ।
बासुकलाकाअनुसार, अहिले उक्त घर भत्काईदैछ भने भत्काएर सकिनेबित्तिकै त्यहाँ नयाँ घर बनाइन्छ । नयाँ घर नबनुञ्जेलसम्मका लागि फूटपाथ छेकिनेछ । घर भत्काउँदा खसेको सामग्रीले पैदलयात्रुलाई असुरक्षित बनाउन सक्ने भन्दै फूटपाथ रोकिएको उनले बताए । तर, फूटपाथमै उनको घर भत्काएको इट्टा तथा जस्तालगायतका सामग्रीहरू थुपारिएको छ ।
के भन्छ महानगर ?
उता, सर्वसाधारणलाई समस्यामा पार्ने गरी, सडकको क्षेत्रफल मिचेर वा फूटपाथ नै रोकेर कुनै पनि काम गर्न नमिल्ने कानुनी ब्यवस्था रहेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसरी बाटो नै रोकर घर निर्माण भइरहेको बारे आफूहरुलाई कुनै पनि जानकारी नआएको बताए ।
महानगरका प्रवक्ता कार्कीलाई ‘फूटपाथ नै बन्द गरेर भवन बनाउन मिल्छ ? भनी प्रश्न गर्दा उनले मिल्दै तर, यस विषयमा बुझेर कानुनी कारबाही अघि बढाउने जानकारी दिए ।


