काठमाडौं । विद्युतीय सवारी निर्माता टेस्लाले बालबालिकाको लागि ‘ब्यालेन्स बाइक’ ल्याएको छ । कम्पनीले कम्पनीले दुईदेखि ५ वर्ष उमेर समूहका बालबालिकाले प्रयोग गर्ने ब्यालेन्स बाइक ल्याएको हो ।
कम्पनीले यसको मूल्य २२५ अमेरिकी डलर तोकेको छ । यो बाइक जुलाई ३१ देखि बिक्रीका लागि उपलब्ध हुनेछ । उपभोक्ताले अगस्टको अन्त्यबाट डेलिभरी पाउने छन् ।
लाइफ स्टाइल प्रोडक्टको रुपमा आएको ब्यालेन्स बाइक सामान्य साइकलभन्दा फरक छ । यसमा प्याडल हुँदैन । बालबालिकाले खुट्टाको सहयोगमा बाइक अघि बढाउँदै दुई पाङ्ग्रामा सन्तुलन कायम गर्न सिक्ने उद्देश्यले यो डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
ठूलो भएपछि प्याडल भएको साइकल चलाउन बालबालिकालाई सहज हुने कम्पनीको भनाइ छ । टेस्लाले बाइकमा हल्का तौलको म्याग्नेसियम फ्रेम प्रयोग गरेको छ । कम्पनीको मिनिमलिस्ट डिजाइनलाई निरन्तरता दिँदै बाइकलाई आधुनिक र आकर्षक स्वरूप दिइएको छ । फ्रेममा टेस्लाको लोगो र ब्रान्डिङ स्पष्ट रूपमा देख्न सकिन्छ ।
बच्चाको हाइट अनुसार मिलाउन मिल्ने सिट यसको अर्को विशेषता हो । यसलाई ५ तहसम्म उचाइ परिवर्तन गर्न सकिने छ । कम्तीमा ३५ सेन्टिमिटर खुट्टाको लम्बाइ भएका बालबालिकाले यसको प्रयोग गर्न सक्ने छन् ।
बाइकको तौल ३० किलोग्राम छ । यसले अधिकतम ३५ किलोग्रामसम्म भार बहन गर्न सक्ने जनाइएको छ । बाइक ग्राहकले आफैं जोड्नुपर्ने कम्पनीले जनाएको छ । यद्यपि, आवश्यक सबै उपकरण प्याकेजमै उपलब्ध गराइने टेस्लाले जनाएको छ ।
टेस्लाका सिमित संस्करणका लाइफस्टाइल उत्पादनहरू बजारमा आएलगत्तै बिक्री हुने इतिहास रहेकाले यो ब्यालेन्स बाइक पनि छोटो समयमै ‘आउट अफ स्टक’ हुन सक्ने अनुमान गरिएको छ ।
टेस्लाले यसअघि पनि साइबरभिसल, टकीला, मग, कपडा तथा विभिन्न ब्रान्डेड लाइफस्टाइल उत्पादन सार्वजनिक गर्दै आएको छ । अब बालबालिकालाई लक्षित ब्यालेन्स बाइक सार्वजनिक गरेर कम्पनीले आफ्नो उत्पादन दायरा थप विस्तार गरेको हो ।


