काठमाडौं । भन्सारमा आवश्यक कागजात ल्याउन नसक्दा दुई महिनादेखि एउटा टेस्ला र तीन वटा प्लगइन हाइब्रिड कार ज्यागुआर छुट्न सकेका छैनन् । अमेरिकन चर्चित कम्पनी टेस्लाको इलेक्ट्रीक कार वेस्टार ग्यालेक्सी ट्रेडिङले आयात गरेको भएपनि टेस्लासँगको आधिकारीक सम्झौँता नभएको कारण उक्त गाडी भन्सारबाट छुट्न सकेको छैन ।
ज्यागुआरको प्लगइन हाइब्रिड कार किशोर गियरले नेपाल ल्याएका थिए । तर, त्यसको पनि उत्पादक कम्पनीको आधिकारीक डिलर नियुक्त भएको कागज बुझाउन नसक्दा भन्सार मै थन्किएको छ ।
संयोग नै यस्तो रहेको छ कि ज्यागुआर र टेस्लाको नेपाल ल्याइएको दुबै कार बेलायतको जेम्सन कार्टर लिमिटेडबाट आयात गरिएको थियो । जेम्सन कार्टर भारतीय मुलका राज वेदीले सञ्चालन गरेको दालचामल देखि कारसम्म खुद्रा बिक्री गर्ने कम्पनी हो।
केही समय अगाडि आउडीको तीन वटा इलेक्ट्रीक कार प्रिन्सा अटोमोटिभले आयात गरेको थियो। प्रिन्साले गैरकानुनी रुपमा आउडी गाडी ल्याएर बिक्री समेत गरिसकेको छ।
नेपालमा नयाँ सवारीसाधन आयात गर्न निर्माता कम्पनीले आधिकारिक बिक्रेता नियुक्त गरेको हुनु पर्छ । साथै, उत्पादक कम्पनीले आधिकारीक डिलर बिस्तार गर्न सक्ने अधिकार दिएको कम्पनीबाट गाडी ल्याउन पाइन्छ । तर, यसरी गाडी ल्याउँदा उत्पादक कम्पनीले दिएको पत्र ल्याउनु पर्ने हुन्छ ।
कुनै पनि रिटेलर कम्पनीबाट आयात भएका गाडी जफत गर्न सक्ने अधिकार भन्सार विभागसँग रहेको छ । यी गाडी जफत हुन्छ वा हुँदैनन् अबको केही दिनमा थाहा हुनेछ ।


