काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-गोरुसिंगे-चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न ठेकेदार कम्पनीहरुले चासो नदेखाएको पाइएको
सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले मंसिर १९ गते तिनाउ नदीमा सिग्नेचर ब्रिज बनाउन टेन्डर आह्वान गरेको थियो ।
तर, तोकिएको समय (माघ ७ गते)मा आवेदन नपरेपछि टेन्डर म्याद १५ दिन (माघ २२ गतेसम्म) थपिएको हो । अपेक्षा अनुसार आवेदन नपरेपछि १५ दिन म्याद थपिएको महाशाखाले जनाएको छ ।
तिनाउ पुलको ठेक्का ‘डिजाइन एण्ड बिल्ड’ मोडेलमा लगाउन लागिएको होे । यसमा पुलको डिजाइनदेखि निर्माणसम्मको सबै काम ठेक्का पाउने निर्माण कम्पनीले नै गर्नुपर्छ । साथै, ठेक्का पाउने कम्पनीले ९८० मिटर एप्रोच सडक पनि निर्माण गर्नुपर्नेछ ।
विभागका अनुसार तिनाउ नदी माथि चार लेनको आकर्षक पुल बनाउन लागिएको हो । विभागले यसअघि नै उक्त पुलको विस्तृत अध्ययन र डिजाइन (आर्किटेक्टरस्ट्रक्चर) डिजाइनको नमूना समेत तयार पारिसकेको छ ।
तिनाउ पुलको लम्बाइ करिब २४० मिटरसम्म हुनेछ । नयाँ पुल अहिले भएको पुलको छेउमा बनाइने छ । यस पुलको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।
सरकारले चालु आवको बजेटमा नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण अघि बढाइने घोषणा गरेको थियो । नारायणी पुलको भने ठेक्का लागि निर्माणको काम समेत सुरू भइसेको छ ।

