काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लब काठमाडौं लेजेण्डले तीन दिने राइड कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कम्पनीले भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौं–रसुवा ‘एप्पल फार्म राइड’ आयोजना गर्ने भएको हो ।
काठमाडौंको नक्सालबाट सुरू हुने यो राइड टोखा, छहरे, विदुर, कालिकास्थान, धुन्चे, सानो भार्खु हँुदै गोसाइँकुण्ड गाँउपालिकाको बारबल पुग्ने छ ।
यो राइडका क्रममा लाङटाङ राष्ट्रिय निकुञ्जमा लोपोन्मुख रेड पाण्डा, बाह्रसिंगे, हिमाली भालु जस्ता जनावर देख्ने अवसर पाउने छन् । साथै, रसुवाको बारबलमा रहेको होम स्टेको अनुभव गर्न पाउने छन् ।
आयोजकका अनुसार यो राइडका क्रममा राइडरहरूले अर्गानिक खाना, स्थानीय परिकार, स्थानीय कला तथा संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । रसुवाको बारबलमा सुरू गरिएको व्यवसायिक स्याउ खेतीको पर्वद्धन तथा प्रचार प्रसार गर्ने रहेको काठमाडौं लेजेन्डले बताएको छ ।
रसुवा बारबलमा विगत केही वर्षदेखि व्यवस्थित होमस्टेका साथै अर्गानिक स्याउ खेती सुरू गरिएको भएतापनि प्रचार प्रसारको कमीले गर्दा आन्तरीक तथा बाह्य पर्यटक पुग्न नसकेको स्थानीयको गुनासो छ ।
यो राइडमा करिब ६० जना रोयल इनफिल्ड राइडहरू सहभागी हुने अनुमान रहेको छ ।

