काठमाडौं । टोयोटाले १८६७ मा जन्मिएका आफ्ना संस्थापक साकिची टोयोडाको सम्मानमा सन् १९६७ मा स्पेशल एडिसन कार ‘टोयोटा सेन्चुरी’ बनाएको थियो ।
सुरुमा जापानमा मात्रै बिक्री गर्नेगरी बनाइएको सेन्चुरी लग्जरी र लिमोजीन सेडानको रुपमा स्थापीत थियो । यो कार जापानको राजपरिवार, प्रधानमन्त्री, जापानका उच्च सरकारी अधिकृत तथा ठूला ब्यवसायीक घरानाका ब्यवसायीले मात्रै प्रयोग गर्ने गरेको थिए ।
जापानमा कमाएको प्रसिद्धीपछि टोयोटाले सेन्चुरीलाई अन्तर्राष्ट्रिय बजारमा भने ‘क्राउन सिरीज’मा बिक्री गर्दै आएको थियो ।
जापानी उत्पादक टोयोटाले अब भने सेन्चुरी सेडानलाई फ्ल्यागशिप ब्राण्डको रुपमा राख्ने भएको छ । सेन्चुरी अब फुल साइज एसयूभीमा समेत आउने भएको छ ।

टोयोटाले ल्याउने यो प्रिमियम एसयूभी अफरोड टेरेनको लागि भने उपयुक्त हुने छैन । सेन्चुरी एसयूभीमा ठूलो स्पेश र कम्फर्टको नयाँ अनुभव गर्न पाइने बताइएको छ । यो एसयूभी आफैँ चलाउने नभई चाकल राखेर गाडीमा हिड्ने ग्राहकको लागि लक्षित गरेर ल्याउन लागिएको हो ।
टोयोटा ‘ग्राण्ड हाइल्याण्डर’को प्लेटफर्ममा निर्माण हुने सेन्चुरी एसयूभी टोयोटाको ल्याण्डक्रूजर भन्दा महँगो हुनेछ । यसको ह्वील वेस हाइल्याण्डरको जतिकै लामो भएता पनि लम्बाई र चौडाई भने ठूलो हुनेछ ।
मिडिया रिपोर्टहरुका अनुसार यसको लम्बाई ५२०० एमएम र चौडाई २००० एमएमको हुनेछ । टोयोटाले सेन्चुरी ब्राण्डको पहिलो एसयूभीमा पेट्रोल हाइब्रिड पावरट्रेन दिने बताइएको छ ।

