काठमाडौं । टोयोटाका ग्यासोलिन इलेक्ट्रीक हाइब्रिडको माग बढेसँगै विश्वभर सप्लाइमा समस्या भएको छ । कम्पनीको योजनाभन्दा बढी गाडी माग भएसँगै सप्लायर्सहरूले पार्ट्स दिन नसक्दा सप्लाइमा समस्या देखिएको हो ।
अमेरिका, जापान, चीन तथा युरोपियन डिलरहरूमा टोयोटाका हाइब्रिड मोडलहरूको स्टक एकदमै कम भएको बताइएको छ । पछिल्लो समय विश्व अटोमोबाइल बजार ब्याट्री इलेक्ट्रीक भेहिकलबाट हाइब्रिड मोडलहरूमा सिफ्ट हुन थालेसँगै टोयोटाका कारको उच्च माग भएको हो ।
विश्वमा हाइब्रिड इलेक्ट्रीक मोडलहरूको सबैभन्दा राम्रो लाइनअप टोयोटासँग छ । त्यसैले टोयोटा हाइब्रिड टेक्नलोजीमा अटोमोबाइल क्षेत्रकै प्रमुख खेलाडी मानिन्छ । गएका वर्षहरूमा धेरै कम्पनीहरूले ब्याट्री इलेक्ट्रीक भेहिकलमा अर्बौं लगानी गर्दा टोयोटा भने सबैको अनुमान विपरीत हाइब्रिड टेक्नोलोजी मै केन्द्रीत थियो ।
जापानी जाइन्ट टोयोटाले गएको ५ वर्ष अघि हाइब्रिड तथा प्लगइन हाइब्रिडको बिक्री ५७ लाख युनिट थियो । अहिले वार्षिक १ करोड ६१ लाख युनिट पुगेको छ । यसमा ठूलो हिस्सा पक्कै पनि टोयोटाको छ । टोयोटाका हाइब्रिड कार युरोपियन बजारमा वेटिङ पिरियड दुई महिनाभन्दा बढी पुगेको छ । यारिस क्रस हाइब्रिड र र्याभफोर प्लगइन हाइब्रिड युरोपमा निकै सफल मोडल हुन् ।

टोयोटाको होमकन्ट्री जापानमै धेरै मोडलको वेटिङ पिरियड दुईदेखि ५ महिनासम्म पुगेको बुझिन्छ । अमेरिकामा भने प्रियस र क्याम्री हाइब्रिडको माग उच्च छ ।
त्यस्तै, टोयोटाको विकास भइरहेको महत्वपूर्ण बजार भारतमा गत वर्षदेखि सप्लाईमा सुधार आए पनि केही मोडलको वेटिङ पिरियड २ देखि ९ महिनासम्म पुगेको रिपोर्टहरूले दाबी गरेका छन् । भारतीय बजारमा टोयोटाको हाइब्रिड इनोभा हाइक्रस सन् २०२३ को जनवरीमा बुकिङ गर्नेले समेत अहिलेसम्म पाएको छैनन् ।
टोयोटाले गत वर्षदेखि विश्वको सबै भागमा हाइब्रिडको माग उच्च संख्यामा बढेको बताएको छ । कम्पनीले मागलाई ध्यानमा राख्दै उत्पादनमा पनि वृद्धि गर्दै आएको छ । तर, हाइब्रिड इन्जिनको पाट्सहरूको सप्लाई चेन भने सोचे अनुसार सुधार हुन सकेको छैन ।
टोयोटाको सबैभन्दा ठूलो कम्पोनेन्ट सप्लायर असिन कर्पले हाइब्रिड मोटरको रोटर र स्टाटर प्राप्त गर्न नसकेको बताएको छ । त्यस्तै, अर्को ठूलो कम्पोनेन्ट सप्लायर डेन्सोले इन्भर्टरको आवश्यक पाट्स नपाएर उत्पादनको गति कम भएको जनाएको छ ।

टोयोटाले आफ्नो सबै ग्यासोलिन लाइनअपलाई हाइब्रिड इन्जिन अप्सनमा मात्र उत्पादन गर्ने योजना बनाएको छ । यदि, सबै मोडल हाइब्रिड भएमा सप्लाइमा रहेको समस्या अझै लम्बिने सम्भावना देखिन्छ ।
हाइब्रिड पावरट्रेनको माग टोयोटामा मात्र नभई अन्य कम्पनीका मोडलहरूमा समेत देखिएको छ । हुन्डाईको कोरियाको सियोलमा रहेको डिलरमा हाइब्रिड प्यालिसेड एसयूभीको वेटिङ पिरियड १ वर्षभन्दा धेरै पुगेको छ । त्यस्तै, किया कार्निभल हाइब्रिडको वेटिङ पिरियड १० महिना र सोरेन्टो हाइब्रिडको ७ महिना सम्म रहेको कियाको भनाइ छ ।
हुन्डाई मोटर ग्रुपले हाइब्रिड लाइन अपको १४ मोडलको उत्पादन सन् २०३० सम्ममा दुई गुणा बनाउने घोषणा गरिकेको छ ।
अर्को जापानी हाइब्रिड भेहिकल उत्पादक होण्डाले आफ्ना जापान र नर्थ अमेरिकामा हाइब्रिड कारहरूको माग अत्याधिक बढेको बताएको छ ।
ग्राहकको पक्षबाट हेर्ने हो भने हाइब्रिड इन्जिनले गर्ने इन्धन खर्चको बचतले गर्दा वेटिङमा भए पनि हाइब्रिड नै खरिद गर्ने गरेको देखिन्छ ।


