रसुवागढीको बेलिब्रिजबाट आवतजावत सुरू, केरुङतर्फ गए चालक

काठमाडौं । रसुवागढीस्थित नेपाल चीन जोड्ने नयाँ निर्मित बेलिब्रिजबाट आवत जावत सुरू भएको छ ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने पक्की पुल बगाएको थियो । उक्त स्थानमा चीनले साढे ५ महिना लगाएर निर्माण गरेको बेलिब्रिजबाट आजदेखि आवतजावत सुरू भएका हो ।

आज बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरुङतर्फ जान सुरू गरेका हुन् । यद्यपि, सवारीसाधनको भने आवतजावत खुलाइएको छैन ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले गत असार २४ गते सामान लिन केरुङ गएका कन्टेनरका चालक, सहचालक र व्यापारीहरू आज केरुङतर्फ गएको बताए ।

उनले जनवरी १ (पुस १७ देखि) रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ अधिकारीहरूले जानकारी दिएको बताए । समकक्षीले जानकारी पठाएको बताए ।

‘गत असार २४ गते अघि सामान लिन गएका कन्टेनर उतै रोकिएका छन् । तिनै कन्टेर ल्याउने व्यवस्था मिलाउन आजदेखि चालक, सहचालकहरू केरुङतर्फ जान थालेका छन्,’ उनले मेरोअटोसँग भने, ‘चिनियाँ अधिकारीहरूले जनवरी १ देखि नाका संचालनमा ल्याउने जानकारी दिएका छन् । सोही दिनदेखि सामान आयात निर्यात सुरू होला ।’

झण्डै ६ महिनादेखि रसुवागढी नाका बन्द हुँदा नेपाल चीन बीच व्यपार प्रभावित हुँदै आएको छ । रसुवागढी चीनबाट सामान आयात गर्ने प्रमुख भन्सार नाका समेत हो ।


Back_to_top