यी हुन् सडक जाम गर्ने सवारीसाधन, उपत्यकामा मासिक ८०० दुर्घटना

काठमाडौं । कहिले अत्याधिक ट्राफिक जाम, अव्यवस्थित सडक र अनुसाशनहिन ड्राइभिङका कारण उपत्यकाका सडकमा सवारी साधन गुडाउन नसक्ने अवस्था आएको छ । 

सवारीसाधनको चाप तथा साँघुरो सडकका कारण यहाँका मुख्य चोकहरू कलङ्की–टेकु, महाराजगञ्ज–चावहिल–गौशला, कोटेश्वर–नयाँ बानेश्वर, थापाथली–कुपन्डोललगायतका चोकहरूमा यात्रुहरूले घन्टौँ लामो सवारी जामको समस्या दैनिकरुपमा भोग्नुपरेको छ । 

उपत्यकाका मुख्य चोकहरूमा सवारीसाधनको चापका कारणमात्र नभई साँघुरो सडक, ट्राफिक नियम उल्लंघनजस्ता कुराहरूले पनि सडक जाम हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि बताउँदैआएको छ । सवारी चालकहरूको ‘जहिले पनि जहाँ पनि हतार गर्ने बानी’ले सडक अस्तव्यस्त बनाउने गरेको महाशाखाका प्रवक्ता एसपी जयराज सापकोटा बताउँछन् । 

भाडाका सवारीसाधन सडक जामको प्रमुख कारण

बढ्दो सहरीकरणका कारण सवारीसाधनमा सङ्ख्यात्मक वृद्धि भएको छ, तर सडक भने विस्तार हुनसकेको छैन । केही सडकहरू भने अहिले विस्तार हुँदैछन् । सापकोटा भन्छन्, ‘सडक कम र सवारीसाधनको सङ्ख्या अत्याधिक बढी हुँदा ट्राफिक व्यवस्थापन गर्न हम्मे–हम्मे परेको छ ।’

उपत्यकाभित्र चल्ने भाडाका सवारीसाधनहरूका कारण पनि सडक अस्तव्यस्त बन्ने गरेको छ । प्रवक्ता सापकोटा भन्छन्, ‘भाडामा चलाइएका सवारीसाधनहरूले यात्रुलाई जहाँ पायो त्यहीँ मनलाग्दी हिसाबले ‘पिक एन्ड ड्रप’ गर्छन्, यसकारण पनि सडक अव्यवस्थित तथा असुरक्षित हुने गरेको देखिन्छ ।’

दुर्घटनाको यो दरलाई हेर्ने हो भने उपत्यकाभित्र मासिकरुपमा ७५०/८०० को हाराहारीमा सवारी दुर्घटना हुने गरेको देखिन्छ ।

महाशाखाकाअनुसार यस वर्षको दशैं अविधिभर (असोज २४ देखि कात्तिक ७ गते) मा मात्रै ४७ जना भाडाका सवारीसाधनका चालक नियम उल्लंघनका कारण कारबाहीमा परेका थिए ।

दैनिक २० भन्दा बढी दुर्घटना 

सवारीसाधन चलाउने ज्ञान–सिपको कमी, हतार गर्ने प्रवृत्ति, मादक पदार्थ सेवनजस्ता विभिन्न कारणले उपत्यकामा सवारीसाधन धेरै नै दुर्घटनामा पर्छन् । ट्राफिक नियम उल्लंघनलगायतका यावत् कारणहरूले उपत्यकाभित्र दिनहुँजसो २०/२५ वटाभन्दा बढी दुर्घटना हुने गरेको महाशाखा बताउँछ । दिनहुँजसो २५/३० वटा दुर्घटनाहरू महाशाखामा रेकर्ड हुने गरेको प्रवक्ता सापकोटाले मेरोअटोलाई बताए । दुर्घटनाको यो दरलाई हेर्ने हो भने उपत्यकाभित्र मासिकरुपमा ७५०/८०० को हाराहारीमा सवारी दुर्घटना हुने गरेको देखिन्छ ।

त्यस्तै, उपत्यकाभित्रको दुर्घटनामा परी औषतमा दैनिक एक जनाको मृत्यु हुने गरेको छ भने, अन्य अवस्थामा यो सङ्ख्या बढ्नसमेत गएको छ ।

दैनिक १५ सयभन्दा बढी कारबाहीमा

महाशाखाकाअनुसार उपत्यकाभित्र अत्याधिक ट्राफिक नियम उल्लंघनका घटनाहरू हुने गरेको छ । कतिपय सवारी चालकहरूले आफूलाई ‘शानदार’ देखाउनका लागि तिव्र गतिमा सवारीसाधन चलाउने, लेन अनुशासनको पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने गर्ने पाइएकोसमेत प्रवक्ता सापकोटाले बताए । 

जनचेतनाको कमी, हतार गर्ने बानी, मादक पदार्थ सेवनलगायतका कारण उपत्यकाभित्र बढी मात्रामा सवारी दुर्घटना हुने गरेको देखिन्छ ।

उनकाअनुसार ट्राफिक नियम उल्लंघनका कारण दैनिकजसो करिब १५ सयभन्दा बढी सवारीचालकहरू कारबाहीमा परेका छन् । मासिकरुपमा करिब ४५ हजारको हाराहारीमा कारबाहीमा पर्ने गरेका छन् ।

दिनहुँ उठ्छ, १३ लाख रुपैयाँ राजस्व

उपत्यकाभित्र ट्राफिक नियम उल्लंघनका घटनाहरू उच्च मात्रामा रहेको छ भने दिनहुँ कारबाहीमा पर्नेहरूको पनि ठूलो जमात रहेको छ । महाशाखाकाअनुसार उपत्यकाभित्रमा हुने गरेको सवारी चेक–जाँच र कारबाहीबाट दैनिकरुपमा करिब १२ लाख ९४ हजार रुपैयाँ हाराहारीमा राजस्व संकलन हुने गरेको छ । महाशाखाका प्रवक्ता सापकोटाकाअनुसार यति धेरै रकम दिनदिनै भने उठ्दैन । उनी भन्छन्, ‘यति धेरै रकम नियमित भने उठ्दैन, कहिले धेरै पनि हुनसक्छ, कहिले थोरै पनि ।’

दैनिकरुपमा उठ्ने यो राजस्वलाई हेर्ने हो भने ट्राफिक महाशाखाले मासिकरुपमा त यसको ३० गुणा बढी राजस्व संकलन गर्छ । यस तथ्यांकलाई हेर्ने हो भने उपत्यकाभित्र अत्याधिकरुपमा ट्राफिक नियम उल्लंघन हुने गरेका छन् । जनचेतनाका लागि नियमित कक्षा

उपत्यकाभित्र हुने गरेको ट्राफिक नियम उल्लंघन, दुर्घटना तथा कारबाहीको सङ्ख्या उच्च देखिएको छ । जनचेतनाको कमी, हतार गर्ने बानी, मादक पदार्थ सेवनलगायतका कारण उपत्यकाभित्र बढी मात्रामा सवारी दुर्घटना हुने गरेको देखिन्छ । यसलाई नियन्त्रण गर्नका निम्ति विशेषतः चालक आफैँ संयमित हुनुपर्ने महानगरीय ट्राफिक महाशाखा बताउँछ । यसकासाथै ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरणका लागि नियमितरुपमा विभिन्न कक्षा सञ्चालन गर्दैआएको छ । 

सवारीसाधनबाट हुने दुर्घटना न्यूनीकरणका लागि केवल ट्राफिक प्रहरी वा चालकले मात्रै सक्रिय भएर पुग्दैन । 

महाशाखाका प्रवक्ता सापकोटाले चालकहरू चेतना अभिवृद्धिका लागि विभिन्न कक्षाहरू सञ्चालन गर्दैआएको बताए । उनकाअनुसार अहिले नियमितरुपमा ट्राफिक महाशाखामा लेन अनुशासनसम्बन्धी कक्षा, मादक पदार्थ सेवनसम्बन्धी कक्षा, सवारी दुर्घटनासम्बन्धी कक्षालगायतका कक्षाहरू सञ्चालन भैरहेका छन् । पैदल यात्रुको हकमा भने चोक–चोकमा खटिएका प्रहरीले नै उनीहरूलाई सुझावहरू दिने गरेका छन् । 

दुर्घटना न्यूनीकरण कसरी ?

सवारीसाधनबाट हुने दुर्घटना न्यूनीकरणका लागि केवल ट्राफिक प्रहरी वा चालकले मात्रै सक्रिय भएर पुग्दैन । यसका निम्ति व्यक्ति, समूह र संस्था सबै लाग्न जरुरी छ । महाशाखाका प्रवक्ता सापकोटा भन्छन्, ‘हामी सक्रिय भएर मात्रै दुर्घटना रोकिन्छ भन्ने छैन । यसका लागि सबै सरोकारवाला निकाय लाग्नु जरुरी हुन्छ ।’ सवारीसाधन विशेषगरी चालकको नियन्त्रणमा हुने बताउँदै उनले विशेषगरी चालकले बढी संयमितता अपनाउनुपर्ने बताए ।

त्यस्तै, जनस्तरमा चेतना फैलाउने, ट्राफिक नियम उल्लंघन नगर्ने प्रतिवद्धता सबैले गर्ने र प्रतिवद्धताअनुरुप नै आफू चल्नेजस्ता कुराहरूमा बढी ध्यान दिनुपर्ने हुन्छ । कुनै सवारीसाधनले लापरबाही गरेको भेटिएमा पनि ट्राफिक प्रहरीलाई खबर गरिहाल्न पनि महाशाखाले अनुरोध गर्ने गरेको छ । 


Back_to_top