क्रसओभर कारको मूल्य भयो परिर्वतन, यस्तो छ नयाँ मूल्य

काठमाडौं । क्रसओभर कारको बजार नेपालमा क्रमिकरुपमा बढ्दै गएको छ । सेडान कारको सेल्समा गिरावट आएसँगै क्रसओभर कारको बजार बिस्तार हुँदै गएको हो ।

भर्खरै नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालले आफ्ना गाडी बिक्रेता सदस्यहरूले बिक्री गर्दैआएको सवारीसाधनको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । 

नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका क्रशओभर कारको मूल्य जानकारी दिने उद्देश्यले हामीले यो रिपोर्ट तयार पारेका हौ । 

एक्टिभ आई–२०

नेपाली बजारमा हुन्डाई कम्पनीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेटल प्रालिले क्रशओभर आई–२० एक्टिभ नेपाली बजारमा बिक्री–वितरण गर्दैआएको छ । आकर्षक डिजाइन, लूक तथा विशेषता समेटिएको हुन्डाई एक्टिभ आई २० ले राम्रो बजार लिइरहेको छ । 

यसको पेट्रोल भेरिएन्टमा १.२ लिटर ड्यूल भीटीभीटी कप्पा पेट्रोल इन्जिनको प्रयोग गरिएको छ । यसले ८२ बीएचपी पावर र ११५ एनएम–टर्क उत्पन्न गर्ने क्षमता राख्छ । 

दुई भेरिएन्टमा उपलब्ध एक्टिभ आई २०को बेस भेरिएन्टको मूल्य ३४ लाख ५६ हजार रुपैयाँ रहेको छ, जसमा कम्पनीले साउनको तुलनामा ६० हजार रुपैयाँ मूल्य बढाएको छ  । हुन्डाई एक्टिभ एस भर्सनको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ, यसको मूल्यमा भने कुनै परिर्वतन गरिएको छैन । 

फोर्डको फ्रि–स्टाइल 

फोर्डका लागि नेपालको आधिकारीक वितरक जीओ अटोमोबाइल्स प्रालिले बिक्री–वितरण गर्दैआएको फोर्ड फ्रि–स्टाइल अर्काे चर्चित क्रशओभर कार हो । नेपाली बजारमा यो मोडल ७ वटा भेरिएन्टमा उपलब्ध छ । पेट्रोल भेरिएन्टअन्तर्गत यो कारको सुरुवाति मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ भने महङ्गो मोडलको मूल्य ३३ लाख ९९ हजार रहेको छ । 

डिजेल भेरिएन्टअन्तर्गत सबैभन्दा सस्तो मोडलको मूल्य २९ लाख ९९ हजार रहेको छ भने महङ्गो मोडलको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले कुनैपनि मोडलको मूल्य बढाएको छैन ।

१.२ लिटरको ३ सिलिन्डरयुक्त पेट्रोल इन्जिन रहेको यो कारले ९६ पीएस पावर तथा १२० एनएम–टर्क उत्पादन गर्छ । यसले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने गर्छ । सेफ्टीका लागि ६ एयरब्याग, एन्टीलक–ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक–फोर्स डिष्ट्रीब्यूसन, ट्रेक्सन कन्ट्रोल, रियरभ्यू क्यामेरा र इमरजेन्सी असिस्टेन्सजस्ता सुविधा दिइएको छ । 

टोयोटा ईटीएस क्रश


टोयोटाका लागि नेपालको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडले क्रशओभर कार ईटीएस क्रशको बिक्री–वितरण गर्दैआएको छ । नेपालमा यसको दुईवटा भेरिएन्ट उपलब्ध छ । ईटीएस क्रश–भीको मूल्य ४२ लाख नेपाल रुपैयाँ रहेको छ । यसमा १४९८ सीसी इन्जिनको प्रयोग गरिएको छ । ईटीएस क्रश–भीडीको मूल्य ४४ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले साउनको तुलनामा दुबै मोडलको मूल्यमा परिर्वतन गरेको छैन ।

यसमा १३६४ सीसी इन्जिनको प्रयोग गरिएको छ । यसमा उपलब्ध इन्जिनले १७० एनएम–टर्ककासाथै ६७.०४ बीएचपी पावर उत्पादन गर्छ । 


Back_to_top