काठमाडौं । सुजुकीको नयाँ स्कुटर बर्गम्यान स्ट्रीट–१२५ नेपाली बजारमा आउने भएको छ । सुजुकी टु ह्वीलरको लागि नेपालको आधिकारीक वितरक भीजी सुजुकीले उक्त स्कुटर मंसिरको अन्त्यसम्ममा नेपाली बजारमा बिक्री वितरण गर्न लागेको हो ।
भारतीय बजारमा उत्पादन भएको कम्पनीको पहिलो म्याक्सी स्कुटरले सार्वजनिक भएको १२ दिनमा नै १० हजार यूनिटभन्दा बढि विक्री गरेर नयाँ रेकर्डसमेत बनाएको थियो ।
कस्तो छ स्कुटर ?
सुजुकी बर्गम्यान–६२५ को डिजाईनबाट प्नभावित रहेको बर्गम्यान स्ट्रीटमा १२५ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन जडान गरिएको छ । यसले ८.७ पीएस पावर र १० एनएम टर्क उत्पादन गर्छ ।
कम्पनीका अनुसार उच्च प्रविधियुक्त सुजुकी बर्गम्यान स्ट्रीटमा एलइडी हेडलाईट र टेललाईट दिइएको छ ।
यस स्कुटरमा मल्टी फङ्गसन की स्लट जडान गरिनुका साथै अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १२ वाट चार्जर सकेट तथा प्रयाप्त अन्डरसिट स्टोरेज स्पेशजस्ता विशेषताहरु दिइएका छन् ।
सुजुकीको बर्गम्यान स्ट्रीट १२५ को अगाडीको भागमा डिस्क ब्रेक र रियरमा ड्रम सेटअप जडान गरिएको छ । यसका साथसाथै स्कुटरमा सीवीएस पनि दिइएको छ ।
भारतमा सुजुकीले बर्गम्यान स्ट्रीट १२५ को मूल्य ६८ हजार भारतीय रुपैयाँ राखिएको छ भने, नेपाली बजारमा यसको मूल्य करिब २ लाख ३० हजारको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

