काठमाडौं । टीभीएसको मोटरसाइकल तथा स्कुटरमा मूल्य वृद्धि भएको छ ।
नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिक्री गर्दै आएका अधिकांश भेरियन्टका मोटरसाइलको मूल्य २ देखि ४ हजार रुपैयाँसम्म बढाएको हो ।
कम्पनीले अपाचे सिरिज, रेडर, स्ट्राइकर, रेडन र एनटर्क मोडलमा मूल्य बढाएको हो ।
कम्पनीले मोटरसाइकल अन्तर्गत अपाचे आरटीआर १६० टूभी एफआई र रिफ्रेस दुवैको मूल्य ३ हजार रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै १६० टूभी एफआईको नयाँ मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँ र रिफ्रेसको ३ लाख २१ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, अपाचे आरटीआर १६० फोरभी एफडी रिफ्रेस भेरियन्टको मूल्य २ हजार बढाएर ३ लाख ३९ हजार ९०० रुपैयाँ पुर्याएको छ । कम्पनीले रेडरको नयाँ आइजीओ भेरियन्टमा समेत ४ हजार र रेडरको परानो भेरियन्टमा २ हजार रुपैयाँ बढाएको छ ।
रेडरको आइजीओ भेरियन्ट नेपालमा दशैं अघि मात्रै ३ लाख ५ हजार ९०० रुपैयाँ मूल्यमा सार्वजनिक भएको थियो । कम्पनीले एक महिनामै यसको मूल्य ४ हजार बढाएर ३ लाख ९ हजार ९०० रुपैयाँ पुर्याएको छ । त्यस्तै, पुरानो रेडर भेरियन्टको मूल्य २ लाख ७६ हजार ९०० रुपैयाँ पुगेको छ ।
त्यसैगरी, टीभीएसको स्ट्राइकर १२५ मा २ हजार र रेडनमा ४ हजार रुपैयाँ मूल्य बढेको छ । स्ट्राइकरको नयाँ मूल्य २ लाख ५१ हजार ९०० र रेडनको २ लाख २५ हजार ९०० रुपैयाँ पुगेको छ ।
साथै, कम्पनीले स्कुटरको एनटर्क सेग्मेन्टको ६ भेरियन्टमा मूल्य बढाएको हो । एनटर्क एक्सपीको रेड र ब्ल्याक दुवै, रेस एडिसन आरटीएफआई बीएसभीआई, एनटर्क ड्रम जस्ता भेरियन्टमा २ हजार र एनटर्क डिस्क एफआई भेरियन्टमा भने ३ हजार रुपैयाँ मूल्य बढाएको छ ।
यसका अलावा कम्पनीले एक्सएल १०० मोडलमा समेत २ हजार रुपैयाँ मूल्य बढाएको छ । नयाँ मूल्य अनुसार एनटर्क एक्सपीको रेड र ब्ल्याक भेरियन्टको मूल्य ३ लाख ३१ हजार ९०० र ३ लाख ३२ हजार ९०० रुपैयाँ, रेस एडिसन आरटीएफआई ३ लाख १३ हजार ९००, एनटर्क डिस्क एफआई २ लाख ८८ हजार ९००, ड्रम भेरियन्टको २ लाख ४८ हजार ९०० र एक्सएल १०० मोडलको १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ ।

