काठमाडौं । विद्युतीय कार नेपाल आउने क्रम बढ्दै गएको छ । आजै दुई ब्राण्डले भन्सार प्रयोजनको लागि अधिकतम खुद्रा मूल्यसूची प्रकाशन गरेका छन् ।
नेपाल आउन लागेका दुबै ब्राण्ड चीनका हुन् । चेरी र डोङफेङ मोटर्सका सहायक कम्पनीहरु केई र नामी ब्राण्डका उत्पादन नेपाल आउन लागेका हुन् । यी दुबै ब्राण्डले आज अधिकतम खुद्रा मूल्य प्रकाशित गरेको हो ।
नामी ब्राण्डलाई एमएडब्लू मोटोकर्पले बजारमा ल्याउन लागेको हो । यो प्रिमियम ह्याचव्याक कारको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । यो मूल्य अन्तिम बिक्री मूल्य भने होइन । कम्पनीले बिक्री सुरु गर्ने समयमा मूल्य तलमाथि गर्न सक्नेछ ।
त्यसैगरी केईको इलेक्ट्रीक एसयूभीको मूल्य ५२ लाख ९६ हजार तोकिएको छ । लक्ष्मी इ-मोविलिटीले ल्याएको एक्स-थ्री प्रो मोडल चेरीको टिगो-फोर प्रोमा आधारित एसयूभी हो ।
नामी ह्याचव्याक कारमा ३१ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । केई एक्स-थ्री प्रो मोडलमा ५३ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ ।

बजारमा आउन लागेको नामी-०१ मोडलले बीवाइडी डल्फीनसँग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ । केईको नयाँ एसयूभीको प्रतिस्पर्धा मूल्य, फिचर, साइज र बडी डिजाइनको आधारमा एमजी जेडएस ईभी र सेरेस-थ्रीसँग हुने देखिन्छ ।
दुबै कम्पनीले अहिले नै अधिकतम खुद्रा मूल्य प्रकाशित गरेको भएपनि यी दुबै ईभी बजारमा बिक्री वितरण सुरु हुनभने केही समय थप लाग्नेछ ।

