काठमाडौं । दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स नेपाली अटोबजारमा विरासत बोकेको कम्पनी हो । तर, पछिल्लो समय आफ्नो विरासत गुमाउँदै गएको यो कम्पनी अटो क्षेत्रमा अस्थिरताको विजारोपन गर्नेमा परिणत हुँदै गएको छ ।
७/८ वर्ष यता यस ग्रुपले आफूसँग भएका सबै चर्चित ब्राण्ड गुमाएको छ भने ल्याएका नयाँ ब्राण्ड पनि स्थापित गर्न सकेको छैन । कम्पनीले सन् २०१६ मा चर्चित चारपाँग्रे ब्राण्ड निसान गुमायो ।
त्यस्तै, ४ वर्ष अघि चर्चित दुईपाँग्रे ब्राण्ड रोयल इनफिल्ड तथा भेष्पा अप्रियालको डिलरशिप गुमाएको थियो । लक्ष्य अनुसार बिक्री बढाउन नसकेको र सर्भिसमा समेत गुनासो बढेपछि दुवै कम्पनीको डिलरशिप खोसिएको थियो । दुगडबाट खोसिएको रोयल इन्फिल्ड अहिले अल्फा अटोमोटिभ्स र भेष्पा/अप्रिलिया डेल्टा अटाेकर्पले बिक्री गर्दै आएका छन् ।
आफूसँग भएका चर्चित ब्राण्ड गुमेपछि विवेक अटोलेले इलेक्ट्रीक स्कुटरमा हात हाल्यो । नेपाली बजारमा विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा देखेपछि कम्पनीले सन् २०२३ मा इन्डोनेशियामा उत्पादन भएको जेसिट् इलेक्ट्रीक स्कुटर नेपाल भित्र्यायो । तर, २ वर्षमै उक्त ब्राण्ड पनि बन्द हुने अवस्थामा पुगेको छ ।
कम्पनीले २ वर्षको अवधिमा जम्मा दुई पटक मात्र जेटिस् स्कुटर नेपाल ल्याएको छ । विवेक अटोले सन् २०२३ को जनवरीमा ७२ युनिट र अगष्टमा ७२ गरी जम्मा १४४ युनिट स्कुटर स्कुटर नेपाल भित्र्याएको थियो । त्यसयता कम्पनीले जेटिस् स्कुटर नेपाल ल्याएको तथ्यांक छैन ।

ठूलो महत्वकांक्षका साथ ल्याएको स्कुटर बिक्री गर्न नसकेपछि कम्पनीले अहिले भएकै शोरुम पनि बन्द गर्न थालेको छ । कम्पनीले हालै नक्सालमा भएको शोरुम बन्द गरेको छ भने अब बालाजुमा मात्र संचालनमा छ ।
जेसिट्का उपभोक्ताले सर्भिस पाउनेमा अन्योलता
कम्पनीले नेपाली बजारमा १४४ युनिट स्कुटर बिक्री गरे पनि आगामी दिनमा निरन्तर सर्भिसिङ सेवा दिनेमा भने अन्योलता देखिएको छ ।
कम्पनीले पछिल्लो दुई वर्षमा भित्र्याका जेसिट् स्कुटर बिक्री गर्ने बाहेक अरु केही काम गरेको छैन । नक्सालको शोरुम बन्द गरिसकेको छ भने हाल बालाजुमा मात्रै शोरुम र सर्भिस सेन्टर संचालनमा छ ।
कम्पनीले पछिल्ला दिनमा जेसिट्को स्कुटर बिक्री गर्न छाडेको र भएका शोरुम बन्द गर्न थालेकाले आगामी दिनमा ब्राण्ड नै बन्द गर्ने हो कि भन्ने आशंका समेत बढेको छ ।
२ वर्ष यता नयाँ शोरुम विस्तार नगरेको र भएकै शोरुम समेत बन्द गर्न थालेकाले हाल गुडिरहेका स्कुटरधनीले सेवा तथा सर्भिस पाउने निश्चितता देखिँदैछ । नक्साल शोरुम बन्द गरेपछि कम्पनीले आफ्ना ग्राहकलाई भविष्यमा सेवा निरन्तरता राख्ने कुनै जानकारी गराएको छैन । ग्राहकमा भने ब्राण्ड नै बन्द हुने र आफूहरूले सर्भिस नपाउने हो कि भन्ने चिन्ता बढेको देखिन्छ ।
‘अटो बजारमै नकारात्मक सन्देश गयो’
दुगड ग्रुप विगतमा अटोमोबाइल क्षेत्रमा अग्रणी कम्पनी हो । तर, पछिल्लो समय आफूले ल्याएको स्कुटर बिक्री निरन्तर नगरी धमाधम बन्द गर्न थालेकाले यसले समग्र बजारमै नकरात्मक असर पर्ने जानकारहरू बताउँछन् । विरासत भएका कम्पनीले नयाँ ब्राण्ड ल्याउने र केही समयमै बन्द गर्दा विश्वसनीयता गुम्ने उनीहरूको भनाइ छ ।
दुगड ग्रुपको अस्थिरताले समग्र अटो बजारमै नकारात्मक सन्देश गएको एक अटो व्यवसायीले बताए । विद्युतीय स्कुटरप्रति विश्वास बढाउन नसकिरहेको अवस्थामा नयाँ ब्राण्ड ल्याउने र एक लट बेचेपछि ब्राण्ड नै बन्द गर्ने प्रवृति बजारका लागि घातक रहको उनको भनाइ छ ।

‘दुगड ग्रुपको अस्थिर बिजनेस नीतिले हामी जस्तो डेडिकेटेड रुपमा शोरुम तथा सर्भिस विस्तार गर्दै काम गरिरहेको कम्पनीलाई समस्या भएको छ । ग्राहकले विश्वास नगर्ने अवस्था सृजना भएको छ,’ उनले भने, ‘विगतमा पनि धेरै कम्पनीले यस्तै गरेका कारण अहिले पनि ईभी दुईपाँग्रेको बजारले गति लिन सकिरहेको छैन् ।’
नेपाली बजारमा ५० बढी ब्रााण्डका इलेक्ट्रीक ब्राण्ड भित्रिए पनि हाल करिब २ दर्जन मात्रै टिकेका छन् । आधा बढी ब्राण्ड बन्द भएका छन् । गत वर्ष मात्रै प्योर ईभी, इकुटर, हर्विन, राफ्ट, लिफान लगायत धेरै ब्राण्ड बन्द भए । जसकारण उपभोक्ताले सर्भिस र सेवा पाउन सकेका छैनन् । यसले पनि दुईपाँग्रे ईभीप्रति अविश्वास बढ्दै गएको छ । यस्तोमा विवेक अटोको जस्तो गतिविधिले समग्र बजारमा विश्वास गुमाउँदै गएको अर्का एक व्यवसायीले बताए ।
‘अहिले बजारमा २०/५० युनिट स्कुटर ल्याउने । जसोतसो बिक्री गरेर नाफा कमाउने अनि ब्राण्ड बन्द गर्ने होड बढ्दो छ,’ उनले भने, ‘अब ग्राहकले ब्राण्ड मात्र होइन, बिक्रेताको लिगेसी, सर्भिस र पार्टस्को उपलब्धता बुझेर मात्रै दुईपाँग्रे ईभी किन्नुपर्छ । नत्र फस्ने सम्भावना धेरै हुन्छ ।’
फेरि नयाँ ब्राण्ड ल्याउँदै

भएकै ब्राण्ड टिकाउन नसकेपछि कम्पनीले फेरि अर्को नयाँ ब्राण्ड ल्याउने भएको छ । कम्पनीले भारतमा चर्चामा रहेको रेभोल्ट इलेक्ट्रीक मोटरसाइकल नेपाल ल्याउने भएको हो ।
रेभोल्ट मोटरसाइकलका लागि कम्पनीले अहिले धमाधम शोरुम निर्माण गरिरहेको छ । कम्पनीले यसअघि नक्सालमा जेसिट्को शोरुम रहेको स्थानमै रेभोल्टको शोरुम बनाइरहको हो । उक्त मोटरसाइकल चाँड नेपाल आउने बताए पनि मिति भने खुलाएको छैन ।
नेपालमा चारपाँग्रे विद्युतीय सवारी साधनको प्रयोग र विश्वसनीयता बढ्दै गए पनि दुईपाँग्रेमा भने अझै आकर्षण देखिएको छैन । दुईपाँग्रे ईभीमा लामो दुरीका रेन्ज नहुनु, आधिकारिक सर्भिस सेन्टर र पार्टर्सको उपलब्धता नहुनु, पर्याप्त चार्जिङ स्टेसनको अभाव, पेट्रोल मोटरसाइकल/स्कुटरको तुलनामा भरपर्दो नहुनु लगायत कारणले प्रयोग बढ्न सकको छैन ।
नेपालमा इलेक्ट्रीक मोटरसाइकल स्कुटरको तुलानामा अझै असफल छ । यस्तोमा विवेक अटोले ल्याउने रेभेल्ट इलेक्ट्रीक मोटरसाइकल स्थापित होला वा पानीको फोका जस्तै बिलाउला । त्यो भने भविष्यले नै देखाउने छ ।


