काठमाडौं । आजबाट नाडा अटो शो २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । आगामी फागुन ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा धेरै कम्पनीले नयाँ सवारी साधन प्रदर्शनी गर्ने छन् ।
विशेषत आगामी अटो शोमा होन्डा, बजाज, हिरो, यामाहा जस्ता धेरै मोटरसाइकल विक्री गर्ने कम्पनीहरुले नयाँ मोटरसाइकल प्रदर्शनी गर्ने अनुमान लगाउन सकिन्छ । नाडा अटो शो २०२२ बाट बजाजले २५० सीसी क्षमताको पल्सर, यामाहाले एफजेड–एक्स १५०, होन्डाले एनएक्स २०० र हिरोले एक्सपल्स २०० फोर भी मोटरसाइकल विक्री सुरु गर्न सक्ने देखिएको छ ।
कम्पनीहरुले ल्याउने यी मोटरसाइकल रेट्रो, एड्भेन्चर र सेमी फियर्ड डिजाइनमा रहने छन् । यी सबै मोटरसाइकल भारतीय बजारमा विक्री वितरण भइरहेकोले नेपाल आउने अनुमान गर्न सकिन्छ ।
बजाज पल्सर २५०
बजाजले पल्सर सिरिजकै सबैभन्दा पावरफुल मोटरसाइकल अघिल्लो महिनाबाट भारतमा विक्री सुरु गरेको हो । २५० सीसी क्षमतामा एकै पटक दुई मोटरसाइकल ल्याएको बजाजले यसलाई नयाँ जेनेरेशनपल्सर भनेको छ ।
नेकेड डिजाइनको पल्सर ‘एन-२५०’ र सेमी फियर्ड डिजाइनको ‘एफ २५०’ मध्ये पहिला एन २५० नेपाल आउने अनुमान गर्न सकिन्छ । नेपालमा २२० एफको उच्च माग रहेको कारण एफ २५० पछि मात्रै नेपाल आउन सक्ने हाम्रो अनुमान छ । तर, आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले यसको बारेमा कुनै जानकारी दिएको छैन ।

यी दुबै मोटरसाइकलमा एउटै इन्जिन र बढी स्टाइल दिइएको छ । उस्तै एग्जस्ट, इन्ट्रुमेन्ट कन्सोल, सिट, टायर साइज, ब्रेकिङ सिस्टम र एबीएस उपलब्ध रहेको छ । तर, राइडिङ पोजिन, ह्याण्डलबार र फ्रन्ट डिजाइनमा भने भिन्नता पाउन सकिन्छ ।
सिल्क हेडल्याम्प क्लष्टर, एलइडी डेटाइम रनिङ लाइट, एलइडी प्रोजेक्टर हेडल्याम्प, सार्प लुकिङ बडी प्यानल, सेमी डिजिटल क्लष्टर जस्ता फिचरले नयाँ पल्सर २५० सिरिजलाई उत्कृष्ट बनाएको अपेक्षा गर्न सकिन्छ ।
यामाहा एफजेड-एक्स १५०
यामाहाले रेट्रो डिजाइनमा ल्याएको एफजेड एक्स भारतमा उत्पादन भएको मोटरसाइकल हो । एफजेड एक्स यामाहाको चर्चित मोटरसाइकल एफजेडएस भी ३मा आधारित रेट्रो डिजाइनको मोटरसाइकल हो ।
यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले रेट्रो लुक मोर्डन टेक्नोलोजिमा आधारित मोटरसाइकल नेपाल ल्याउने तयारी यसअघि नै गरेको थियो । भारतमा केही महिनाको परिक्षण पछि नेपाल आउने कम्पनीले जनाएको थियो । यस्तोमा करिब ४ महिना अघि भारतमा विक्री सुरु भएको यो मोटरसायकल अब भने नेपाल आउने अनुमान गर्न सकिन्छ ।

एफजेड एक्स १५० मा वल्र्ड स्कुल राउण्ड सेप एलइडी हेड ल्याम्प दिइएको छ । त्यस्तै यसमा नयाँ टेक्नोलोजि आधारित धेरै फिचर रहेका छन् । यामाहाले यसमा ब्रान्ड न्यू अल डिजिटल कन्सोल, ब्लुटुथ कनेक्टीभीटी, सिंगल च्यानल एबीएस दिएको छ ।
एफजेडएस भी थ्रिमा प्रयोग भएको समान १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा पाउन सकिन्छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।
यसका अलावा एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, ब्लुटुथ कनेक्टिभिटी, दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।
हिरो एक्सपल्स २०० फोर भी
हिरोको लोकप्रिय मोटरसाइकल एक्सपल्स २०० को नयाँ भर्सन भारतमा एक महिना अघि विक्री सुरु भएको हो । हिरो मोटोकर्पको आधिकारीक वितरक एनजीएम हिरोले एक्सपल्स २०० चाँडै नेपाल ल्याउने जानकारी दिइसकेको छ ।
हिरो एक्सपल्सको हाइवे पर्फमेन्स उत्कृष्ट बनाउन कम्पनीले भोर भल्भ इन्जिनमा यसलाई ल्याएको हो । साथै, कम्पनीले एक्सपल्स २०० मा तीन नयाँ कलर अप्सन पनि थप गरेको छ ।

यसमा प्रयोग भएको फोर भल्भ इन्जिनले पहिलेभन्दा बढी पावर प्रदान गर्नेछ । नयाँ एक्सपल्स २०० फोर भीले १८.८ पीएस पावर र १७.३ एनएम टर्क जेनेरेट गर्छ । नयाँ एक्सपल्सको पावर पुरानोको तुलनामा १ पीएस र १ एनएम टर्क धेरै हो ।
एक्सपल्समा अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील, एलइडी लाइट, डिजिटल डिस्प्ले, सिंगल च्यानल एबीएस, व्लूटुथ कनेक्टीभीटी जस्ता फिचर यसमा उपलब्ध हुनेछन् ।
होन्डा एनएक्स २००
होन्डाले भारतमा पहिलो पटक नयाँ प्ल्याटर्फममा एड्भेन्चर मोटरसाइकल उत्पादन गरेको छ । होन्डा हर्नेट २.० मा आधारित ‘एनएक्स २००’ नयाँ एड्भेन्चर मोटरसाइकल स्याकार ट्रेडिङले बजारमा ल्याउने अनुमान गरिएको छ ।
होन्डाले ‘एनएक्स २००’ होन्डाको २.० प्ल्याटफर्म निर्माण गरेको हो । एड्भेन्चर टुरर मोटरसाइकलको बढ्दो मागलाई सम्बोधन गर्न कम्पनीले ‘एनएक्स २००’लाई नेपाली बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

कम्पनीले यसमा हर्नेट २.० को तुलनामा फरक चेसिस प्रदान गरेको छ, दुबैतिर १७ इन्चको ह्वील, अफरोड टायर, अग्लो विन्डस्कृन र नकल गार्डको प्रयोग यसमा गरिएको छ ।
कम्पनीले यसमा १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गरेको छ । उक्त इन्जिनले अधिकतम १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्छ ।

