दुई नयाँ मोडल नेपाल ल्याउँदै सुजुकी

काठमाडौं । सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले दुई नयाँ मोडल नेपाल ल्याउने तयारी गरेको छ । सरकारले आयात खुल्ला गर्ने हो भने कम्पनीले नयाँ जेनेरेशन बलेनो र ब्रेजा नेपाल ल्याउने तयारी गरेको हो ।

सिजी मोटोकर्पले नेपाल ल्याउने नयाँ जेनेरेशन ब्रेजा र बलेनो दुबै नेपालमा यसअघि नै सफलता चाखिसकेका मोडल हुन् । ब्रेजा सब फोर मिटर एसयूभी हो भने बलेनो प्रिमियम ह्याचव्याक कार हुन् । आगामी भदौ ७ गतेदखि १२ गतेसम्म आयोजना हुने नाडा अटो शो २०२२ लाई लक्षित गर्दै यी दुई मोडल नेपाल आउने छन् ।

कम्पनीले नेपाल ल्याउने नयाँ जेनेरेशन बलेनोमा निकै प्रिमियम फिचर दिएको छ । कम्पनीले बलेनोको टप भेरियन्टमा हेडअप डिस्प्ले, ३६० डिग्री क्यामेरा, अटो डिमिङ आइआरभीएम, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट, सुजुकी कनेक्ट टेक जस्ता फिचर प्रदान गरेको छ ।

नयाँ बलेनोको अगाडिको सम्पूर्ण भागमा परिमार्जन देख्न सकिन्छ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण मानिने हेडल्याम्पमा देखिनेगरी परिवर्तन भएको छ । एडइडी डे टाइम रनिङ लाइटसहितको नयाँ हेडल्याम्प सेटअपले कारलाई निकै आकर्षण देखाएको छ । हेडलाइट जस्तै नयाँ बलेनोको टेललाइट पनि परिवर्तन भएको छ । अब बलेनोमा र्याप अराउण्ड एलइडी टेललाइट पाउन सकिन्छ । यसमा १६ इन्चको ड्यूल टोन अलोय ह्वील दिइएको छ ।

नयाँ बलेनो १.२ लिटर फोर सिलिण्डर ड्यूल जेट भीभीटी पेट्रोल इन्जिनमा आएको छ । उक्त इन्जिनले ६००० आरपीएममा ९० पीएस पावर र ४४०० आरपीएममा ११३ एनएम टर्क प्रदान गर्नेछ ।

त्यसैगरी कम्पनीले ल्याउने ब्रेजामा पहिलो पटक सनरुफ र हाइब्रिड इन्जिनको साथ आउने छ । कम्पनीले नयाँ जेनेरेशन ब्रेजाको ड्यासबोर्डमा पनि ब्यापक परिमार्जन गरेको छ । मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्ट/स्टप बटन, हेड–अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरव्याग दिइएको छ ।

नयाँ एलइडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्किड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, ड्यूल टोन कलर अप्सनको कारण नयाँ ब्रेजा निकै फिचर लोडड हुनेछ । यसको इन्जिनमा भने कुनै परिमार्जन हुने छैन । अहिले ब्रेजा १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ ।


Back_to_top