काठमाडौं । उपत्यकाभित्रको सडक विस्तार कार्य निराशाजनक देखिएको छ । सडक विभाग अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विस्तार गरिरहेको यी सडकखन्डहरूको कार्य निकै सुस्त गतिमा भैरहेको देखिएको हो ।
सडक विस्तारमा भएको ढिलाईका कारण उपत्यका अघिकांश समय धूलो–धूवाँ र वर्षाको समयमा हिलै–हिलोमा रुमल्लिरहेको छ । त्यस्तै, अत्याधिक धूलो–धूवाँका कारण उपत्यकाबासी पनि आजित भैसकेका छन् ।
कुन–कुन सडक विस्तारको क्रममा ?
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाभित्रका मुख्य सडकखण्डहरू विस्तार गरिरहेको छ ।
उपत्यकाभित्रका विभिन्न ९ वटा सडकखण्डहरू आयोजनाले विस्तार गरिरहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विश्व विजयलाल श्रेष्ठले मेरोअटोलाई बताए ।
उनकाअनुसार, ती सडकखण्डहरूमा त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडकखण्ड, चाबहिल–जोरपाटी–बागमती–साँखु सडकखण्ड, लगनखेल–सातदोबाटो सडकखण्ड, इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लामाटार सडक, जोरपाटी–सुन्दरीजल सडक, ढोलाहिटी–सुनकोठी–चापागाउँ–प्याङ्गाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड सडक, कर्मनाशा खोला–हरिसिद्धि–गोदावरीकुण्ड सडकखण्ड, नख्खुखोला–भैंसेपाटी–बुङ्मति सडक, पेप्सीकोला–सल्लाघारी सडकखण्ड विस्तार भैरहेको छ ।
म्यादमात्रै सकियो, काम सकिएन (ठेकेदार कम्पनीको नामसहित)
उपत्यकाभित्र विस्तार भैरहेको अधिकांश सडकखण्डको आयोजना सम्पन्न गर्नुपर्ने समय सकिसकेको छ । तर पनि सडक विस्तारको काम भने ‘ज्यूँका–त्यूँ’ नै छन् । उपत्यकाभित्र विस्तारका क्रममा रहेका मुख्य सडकखण्डहरू त्रिपुरेश्वर–नागढुंगा सडक, चाबहिल–साँखु सडक, लगनखेल–सातदोबाटो सडकलगायत सडकको विस्तार निकै सुस्त देखिएको छ ।
कुल १२.४८ किलोमिटर लम्बाई रहेको त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकखन्ड ४ ठेकेदार कम्पनीले विस्तार गरिरहेका छन् । वि.सं २०७२ असार ३१ बाट काम सुरु भएको यो सडकखण्ड अहिलेसम्म जम्मा ५५ प्रतिशतमात्रै सम्पन्न भएको छ । यसै पुसबाट यस सडकखण्ड विस्तारको काम सकिनुपर्नेमा यसको कार्यप्रगति भने निकै सुस्त देखिएको छ । यस सडकखण्ड विस्तारका लागि बज्रगुरु, शर्मा र लुम्बिनी जेभी कम्पनीलाई ठेक्का दिइएको थियो ।
त्यस्तै, १२.५ किलोमिटर लम्बाईमा रहेको चाबहिल–साँखु सडकखण्डमा अहिलेसम्म जम्मा ४० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । वि.सं. २०७२ असोज १३ गतेबाट विभिन्न पाँच ठेकेदार कम्पनीले यो सडकखण्ड विस्तार कार्य गरिरहेका छन् । जुन सडकखण्ड वि.सं. २०७६ वैशाखसम्ममा विस्तार गरिसक्नुपर्नेछ । यस सडकखण्डको कार्यप्रगति पनि निकै सुस्त देखिएको छ ।
उता, लगनखेल–सातदोबाटो सडकखण्ड विस्तार कार्य पनि निकै सुस्त देखिएको छ । कुल ०.८ किलोमिटर लम्बाई रहेको यस सडकखण्ड विस्तार कार्य वि.सं. २०७३ जेठ २६ गतेबाट सुरु भएको थियो । यसै वर्षको असोज २६ गतेभित्रमा काम सम्पन्न गर्ने गरी समानान्तर निर्माण सेवालाई ठेक्का दिइएको थियो । काम गर्ने समयावधि सकिइसकेको यस सडकखण्ड अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै निर्माण सम्पन्न भएको छ ।
कुल ७.२१५ किलोमिटर लम्बाई रहेको इमाडोल–लामाटार सडकखण्डको हालत पनि उस्तै रहेको छ । २०७३ जेठ २६ गतेबाट विस्तार कार्य सुरु भएको यस सडकखण्डको समयसिमा आगामी वर्ष २०७६ पुसमा सकिनेछ । यस सडकखण्डको विस्तार कार्य अहिले जम्मा ६५ प्रतिशतमात्रै सम्पन्न भएको छ ।
त्यस्तै, सडक विस्तार आयोजनाले ढोलाहिटी–चापागाउँ–सरस्वतीकुण्ड सडकखण्ड पनि विस्तार गरिरहेको छ । कन्केक्ट, पप्पु, महालक्ष्मी र वल्र्डवाइड कम्पनीले निर्माण गरिरहेको यो सडक कुल ९.८१ किलोमिटर लम्बाईको रहेको छ ।
वि.सं. २०७३ जेठ २५ गतेबाट विस्तार कार्य सुरु भएको यस सडक आगामी वर्ष २०७६ माघ १६ गतेभित्र सकिसक्नुपर्नेछ । आयोजनाकाअनुसार, उक्त सडकखण्ड विस्तारका क्रममा अहिलेसम्म जम्मा १० प्रतिशत काममात्रै भएको छ ।
त्यस्तै, कुल ७.६ किलोमिटर लम्बाई रहेको कर्मनाशा खोला–गोदावरीकुण्ड सडकखण्ड वि.सं. २०७३ असार ३ गतेदेखि विस्तार भैरहेको छ । आशिस–सीएम जेभी र लामा–समानान्तर कम्पनीले ठेक्काको जिम्मा लिएको यस सडकखण्डको विस्तार कार्य वि.सं. २०७६ कात्तिक ३० गतेभित्रमा सकिने गरी सम्झौता भएको थियो । तर, हालसम्म यस सडकखण्ड विस्तारमा जम्मा १० प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।
कुल ७ किलोमिटरको लम्बाईमा रहेको जोरपाटी–सुन्दरीजल सडकखण्डको विस्तार कार्य पनि एकदमै सुस्त देखिएको छ । आशिस–सीएम जेभी कन्स्ट्रक्सनले वि.सं. २०७३ असार ३ गतेबाट विस्तार सुरु गरेको थियो । गत असोज ३ गते नै यस सडकखण्ड विस्तार गर्ने समयावधि सकिएको छ । तर, हालसम्म यस सडकखण्डको जम्मा १० प्रतिशतमात्रै कार्यप्रगति भएको छ ।
कतिपय सडकहरूमा परेको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका कारण पनि सडक विस्तारमा बाधा खडा भएको उनले बताए ।
उता, नख्खुखोला–भैंसेपाटी–बुङ्गमति सडकखण्ड पनि अहिले विस्तार भैरहेको छ । कुल ५.५ किलोमिटर लम्बाईमा रहेको उक्त सडकखण्ड वि.सं २०७३ असार ३० गतेबाट विस्तार सुरु भएको थियो ।
पप्पु, महालक्ष्मी र वल्र्डवाइड कम्पनीले उक्त सडक वि.सं. २०७६ असार ३० सम्ममा सक्ने गरी ठेक्का सम्झौता गरेका थिए । काम सुरु भएको भन्डै दुई वर्षभन्दा बढिको समयमा यस सडकखन्डको प्र्रगति भने जम्मा ३५ प्रतिशतमात्रै देखिएको छ ।
पेप्सीकोला सल्लाघारी सडक विस्तार पनि निकै सुस्त देखिएको छ । वि.सं. २०७४ असार ३० गतेदेखि विस्तार सुरु भएको यो सडकखण्ड २०७६ पुस २९ गतेभित्रमा सम्पन्न गर्ने गरी कान्छाराम–पीआर–उमा एन्ड कम्पनीले यसको ठेक्का सम्झौता गरेको थियो । ४.५ किलोमिटर लम्बाईमा रहेको यो सडकमा हालसम्म जम्मा १० प्रतिशतमात्रै प्रगति भएको छ ।
किन भयो ढिलाई ?
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठकाअनुसार सुरुवाती चरणमा स्थानीय बासिन्दाको अवरोधका कारण सडक विस्तारमा ढिलाई आएको हो ।
‘स्थानीयले पहिला घरटहरा भत्काउन नदिने, पछि मुआब्जाका कारण अवरोध गर्नेजस्ता कामहरू गरिरहे, जसका कारण पनि सडक विस्तार ढिला भयो’, मेरोअटोसँग उनले भने ।
त्यस्तै, कतिपय सडकहरूमा परेको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेका कारण पनि सडक विस्तारमा बाधा खडा भएको उनले बताए ।
सडकछेउका बिजुलीका पोल तथा तारहरू हटाउने काममा ढिलाई हुनुलगायतका अन्य कारणले समेत सडक विस्तारमा ढिलाई भइरहेको छ ।

