काठमाडौं । शशिला मोटर्सले भेन्चे ब्राण्डको २२ सिट क्षमताका नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल ल्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएम टर्क र १४० किलोवाट पीक पावर प्रदान गर्ने मोटर रहनेछ ।
विश्वकै ठूलो ब्याट्री निर्माता सिएटीएलले बनाएको १२३ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री रहेको कारण चालक चिन्ता रहित रुपमा यी विद्युतीय बसहरु चलाउन सक्नेछन् ।
बस पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सुरक्षा फिचरले भरिपूर्ण रहेको शसिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिएका छन् ।
आउन लागेका बसको लम्बाई २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले यसलाई लामो र छोटो दुरीका रुटको लागि उपयुक्त मानिन्छ ।
खतिवडाका अनुसार १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक आउन लागेको हो । कम्पनीले बस आइपुग्नुभन्दा पहिले आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्झट सेवा दिने उनको दावी छ ।
दशैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ । विगत दश बर्षदेखि ब्यवसायिक गाडीहरु विक्री वितरण गर्दै आएको शशिला मोटर्सले नेपालको लागि हाइगरका विद्युतीय बसको आधिकारिक बिक्रेता पनि हो ।
कम्पनीले नेपाल ल्याएको भेन्चे ब्राण्डको २२ र २५ सिट क्षमताको बसमा सबै फिचर एउटै रहेको छ । तीन वटा सिट फरक भएपनि मूल्य पनि एउटै ८९ लाख ९० हजार रुपैयाँ तोकिएको हो ।