छलेको ३ करोड ३९ लाख भ्याट दाखिला गर्न टुटललाई राजस्वको पत्र

काठमाडौं । टुटलले अवैध रुपमा सञ्चालन गरेको ‘राइड सेयरिङ’ नामक भाडामा यात्रु बोकेर ग्राहकबाट उठाएको र सरकारलाई तिर्नूपर्ने कर छलेको पुष्टि भएको छ । आन्तरिक राजश्व कार्यालय ललितपुरले टुटलले कर छली गरेको निष्कर्ष निकाल्दै कार दाखिला गर्न पत्र पठाएको हो । 

३ करोड ३९ लाख बराबरको कर छलिएको भेटिएको आन्तरिक राजश्व कार्यालय ललिपुरको निष्कर्ष छ । यसमा ३ वर्षको अवधिको मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, जरिवाना र ब्याजसमेत जोडिएको छ ।

आन्तरिक राजश्व कार्यालय ललितपुरका प्रमुख लालबाहदुर खत्रीले टुटलले कर छली गरेको देखिएकाले कर निर्धारण गरेर दाखिलाका लागि पत्र लेखिएको बताए । कार्यालयले लामो समय लगाएर टुटलको कारोबारको अनुसन्धान गरेको थियो । 

टुटलले सुरुमा जानकारी नभएर उपभोक्ताबाट भ्याट उठाएको र कर कसरी कहाँ बुझाउने भन्ने जानकारी नहुँदा यस्तो अवस्था आएको जवाफ कार्यालयलाई दिएको थियो ।

कम्पनीले सेवा सुरु गरेको दुईवर्षसम्म ग्राहकसँग भ्याटसहितको रकम जोडेर शुल्क उठाएको थियो । तर, उठाएको करबापतको रकम सरकारलाई बुझाएन । 

‘उठाएको कर सरकारलाई नबुझाएपछि हामीले कारोबार हेरेर कर निर्धारण गरेका हौं,’ प्रमुख खत्रीले भने । टुटलले आफ्नो आय कर समेत नतिरेको भेटिएको उनको भनाई छ । टुटलले आय कर पनि नतिरी व्यवसाय चलाएकाले त्यसअनुसार कर निर्धारण गरेर उक्त करमा ब्याज र जरिवाना जोडेर एक मुष्ट कर निर्धारण गरिएको हो । 

टुटलले आफूलाई लगाइएको कर चित्त नबुझे आन्तरिक राजश्व विभागमा पुनरावलोकनका लागि निवेदन दिन सक्छ । पुनरावलोकनमा नगएको खण्डमा निर्धारण गरिएको कर टुटलले तिर्नै पर्नेछ ।

केही समयअघि सरकारले निजी सवारीले शुल्क लिएर यात्रु बोक्न नपाउने भन्दै यो सेवा बन्द गर्न लागेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन बिपरितको काम आफै कानुन बनेर ठाडो निर्देशनमा महानगरीय ट्राफिक प्रहरी माहाशाखा पछि हट्यो भनेका थिए । 

यातायात विभागका महानिर्देशक कुमार दाहालले निजी सवारीले भाडामा यात्रु बोक्नै नपाउने बताएका छन् । टुटल, पठाओ जस्ता कम्पनीको सेवा अवैधानिक भएकाले यसलाई बन्द गर्नुपर्ने उनको भनाई छ । तर प्रधानमन्त्रीको आदेशका कारण कानुन कार्यान्वयनमा कठिनाई आएको बताइएको छ । 


Back_to_top