सवारी उपभोक्ताको चाहना स्पोर्टस युटिलिटी भेइकल (एसयूभी) तथा क्रसओभर प्रति तीब्र देखिएकाले कम्पनीहरुले पनि त्यही अनुरुप सवारी उत्पादनलाई प्राथमिकता दिन थालेका छन् । यही सेगमेन्टमा कम्पनीहरुले धेरै मोडल बजारमा ल्याउने तयारी गरेका छन् ।
प्रिमियम एसयूभीको तुलनामा सब ४ मिटर सेगमेन्टका एसयूभीमा धेरै विकल्प रहेको छ । यस्ता एसयूभीहरु १० लाख भारुमै उपलब्ध हुन्छन् । यस्तैमा भारतीय बजारमा २०१८/१९ मा सर्वाधिक बिक्री भएका एसयूभीको तथ्यांक सार्वजनिक भएको छ ।
गत वर्ष भारतमा हुन्डाई मोटर्सले १ लाख २४ हजार ३ सय वटा क्रेटा बिक्री गरेको छ । आर्थिक वर्ष २०१७/१८ को तुलनामा गत वर्ष क्रेटाको बिक्री १६ प्रतिशतले वृद्धि भएको हो ।
हुन्डाई क्रेटालाई पक्षाएको महिन्द्राको स्कर्पियो गत वर्ष ४७ हजार ८ सय ३७ वटा बिकेको छ । तेस्रो धेरै बिक्री हुने एसयूभीमा मारुती सुजुकीको एस–क्रस रहेको छ । गत वर्ष मारुती सुजुकी एस–क्रस ३७ हजार ८ सय २२ वटा बिकेको छ ।
महिन्द्रा एक्सयूभी–५०० २०१७/१८ को तुलनामा ०१८/१९ मा २ प्रतिशतमात्र वृद्धि भएको देखिन्छ । गत वर्ष महिन्द्रा एक्सयूभी–५०० २५ हजार ९ सय ३८ वटा बिक्री भएको छ ।
धेरै बिक्री हुने एसयूभीमा जीप कम्पास पाँचौं स्थानमा रहेको छ । गत वर्ष १६ हजार ८० वटा जीप कम्पास बिक्री भएको थियो । त्यस्तै छैटौं स्थानमा रेनो डस्टर रहेको छ जुन गत वर्ष १० हजार ३ सय १९ वटा बिक्री भएको थियो ।
सातौं र आठौं स्थानमा टाटाका सफारी र ह्यारियर रहेको छ । गत वर्ष उक्त एसयूभी क्रमशः ५ हजार ६ सय ६४ र ४ हजार ३ सय ६३ वटा बिक्री भएको थियो । नवौं स्थानमा रेनोको क्याप्चर छ जुन ३ हजार ५ सय ४२ वटा बिकेको थियो । दसौं स्थानमा निसानको किक्स रहेको छ । यो एसयूभी गत वर्ष भारतमा २ हजार ६ सय ९१ वटा बिक्री भएको थियो ।

