काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एयरबस ३३०–२०० वाइडबडी जहाज तयार भइसकेकोले पहिलो जहाज असार १५ गते आउने पक्का भएको हो । हाल फ्रान्समा रहेको एयरबसको फ्याक्ट्रीमा एसेम्बल सकिएको छ ।
केही समय अगाडि फ्रान्स पुगेर फर्किएको निगमको टोलीले दिएको जानकारी अनुसार दोस्रो जहाजको एसेम्बल भइरहेको छ । निगमले हालसम्म डेलिभरी पत्रभने पाएको छैन ।
निगमको पहिलो जहाज असार १५ गते पाउने र दोस्रो जहाज साउन १५ सम्म काठमाडौं आउने निगमले जनाएको छ । रोल्सरोयस ट्रेन्ट ७०० इन्जिन जडान हुने जहाजमा २७४ सिट हुनेछन् । २५६ इकनोमी क्लास हुने जहाजमा १८ बिजनेस क्लास रहनेछन् । निगमले जहाज खरिदको लागि यसअघि १० अर्ब रुपैयाँ पठाइसकेको छ भने, बाँकी रकम जहाज आउनुभन्दा एक हप्ता अगाडिमात्र पठाउने छ ।
निगमले वाइडबडी जहाज मार्फत जापानको ओसाका, दक्षिण कोरियाको इन्चोन र साउदी अरबको रियादमा उडान गर्ने जनाएको छ । जापानमा हप्ताको चार उडान माग गरेको निगमले २ मात्र पाएको छ भने कोरियामा ३ र साउदी अरबमा ४ उडान गर्ने अनुमति पाएको छ ।
एउटा वाइडबडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन । यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट एयरलाइन्सले नै तयार गरिरहेको छ ।
एसेम्बलको क्रममा रहेको जहाजको तस्बिर एयरबसको ट्ववीटरबाट लिइएको हो ।