काठमाडौं । विश्व अटोमोबाइल क्षेत्रमा फ्युचर मोबिलिटीको रूपमा हेरिएको फ्लाइङ कार सार्वजनिक पहिलोपटक दुर्घटनामा परेको छ ।
चीनको जिलिङ सहरमा आगामी शुक्रबारदेखि सुरू हुने चाङचुन एयरशोमा प्रदर्शन गर्नुअघि मंगलबार रियलसलको क्रममा फ्लाइङ कार दुर्घटना भएको हो ।
कुनै पनि फ्लाइङ कार सार्वजनिक स्थलमा दुर्घटना भएको यो पहिलो पटक हो । यससँगै अटोमोबाइ र उड्डयन विश्लेषकहरूले फ्लाइङ कारको सुरक्षा बारे चिन्ता समेत व्यक्त गरेका छन् ।
मंगलबार भएको उक्त दुर्घटनामा २ वटा एक्सपेङको इलेक्ट्रीक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ (ईभोल्ट) एयरक्राफ्टहरू आपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाइते भएका एकजनालाई अस्पताल लगिएको थियो ।

यो दुर्घटना दुईवटा एक्सपेङ ईभोल्ट एकदमै नजिक उडेर ड्रिल गर्दै रहेको थियो । दुई एयरक्राफ्ट बीचको अन्तर दुरी एकदमै कम रहेकाले दुर्घटना भएको बताइएको छ । दुई एयरक्रफ्टहरू बीच आकाशमा ठोकिएपछि एउटा सुरक्षित अवतरण गरेको थियो भने अर्कोकाे स्ट्रक्चरमै क्षति पुगेका कारण आगलागी भई जमिनमा बजारिएको थियो ।
एक्सपेङले बनाएको एरोएचटी फ्लाइङ कार चिनियाँ बजारमा अहिले बुकिङ गर्न सकिन्छ । कम्पनीले २ हजारभन्दा धेरै फ्लाइङ कारको बुकिङ भइसकेको जनाएको छ । आगामी वर्षबाट मास प्रडक्सन सुरू हुने यो कारको मूल्य २० लाख युवान (२ लाख ८१ हजार अमेरिकी डलर) रहेको छ ।
केही दिन अगाडि मात्र यूएई सरकारले एक्सपेङलाई स्पेशल फ्लाइट परमिट दिएको थियो ।
नेपालमा गत भदौमा सम्पन्न नाडा अटो शोमा पनि फ्लाइङ कार मुख्य आकर्षण बनेको थियो । नाडामा दीपलको फ्लाइङ कार प्रदर्शन गरिएको थियो ।


