यामाहाले एउटै मोटरसाइकलमा २० हजारसम्मले बढायो मूल्य

काठमाडौं । यामाहा मोटरसाइकलको मूल्य महंगो भएको छ । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू राइडले नयाँ मूल्यसूचीका सार्वजनिक गर्दै २० हजार रुपैयाँसम्मले मूल्य बढाएको हो ।

कम्पनीले यामाहाका सबैजसो प्रिमियम मोटरसाइकलको मूल्य बढाएको हो । यामाहाले सबैभन्दा धेरै २० हजार रुपैयाँले आर १५ एमको मूल्य वृद्धि गरेको हो ।

यसअघि ६ लाख १९ हजार ९०० रुपैयाँमा बिक्री भइरहेको आर १५ एमको मूल्य २० हजारले बढेर ६ लाख ३९ हजार ९०० रुपैयाँ पुगेको छ । त्यस्तै, एमटी १५ बीएस ६ दुई भेरियन्टमा १४ हजार र १५ हजार रुपैयाँले मूल्य बढेको छ ।

कम्पनीले एमटी १५ नर्मलमा १४ हजारले मूल्य बढेर ५ लाख २८ हजार ९०० रुपैयाँ पुगेको छ भने, ह्वाइट एण्ड सीडब्लूवाईमा १५ हजारले बढेर ५ लाख २४ हजार ९०० पुगेको छ ।

त्यसैगरी, यामाहा एफजेडएस एफआई भी टुको मूल्य ९ हजारले बढेर नयाँ मूल्य ३ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । एफजेड एफआई भी टुको मूल्य १४ हजारले वृद्धि गरेर ३ लाख ५५ हजार ९०० रुपैयाँ कायम गरेको छ ।

कम्पनीले बिक्रीमै नभएको मोटरसाइकल फेजर २५ को मूल्यसमेत १५ हजार वृद्धि गर्दै ४ लाख २९ हजार ९०० तोकेको छ ।


Back_to_top