काठमाडौं । यामाहाको नयाँ आर २ मोटरसाइकल भारतमा सार्वजनिक भएको छ । यामाहा इन्डियाले आफ्नो सुपरस्पोर्ट मोटरसाइकल लाइनअप विस्तार गर्दै नयाँ वाइजेडएफ आर २ मोडलको बिक्री सुरू गरेको हो ।
कम्पनीले भारतीय बजारमा वाइजेडएफ आर २ मोडल तीन भेरियन्टमा ल्याएको हो । जसमा स्ट्यान्डर्ड, क्यूएस र एम गरी तीन भेरियन्ट छन् ।
कम्पनीले वाइजेडएफ आर २ स्ट्यान्डर्ड भेरियन्टको मूल्य २ लाख ३० हजार ५०० भारु, क्यूएस भेरियन्टको २ लाख ३९ हजार ५०० भारु र टप एम भेरियन्टको २ लाख ५३ हजार भारु (एक्स शोरुम) तोकेको छ ।
यामाहाको निकै चर्चित आर सिरिज अन्तर्गत बजारमा आएको नयाँ आर २ लाई आर १५ भन्दा माथिल्लो स्थानमा राखिएको छ । यसमा नयाँ इन्जिन, हल्का चेसिस तथा यामाहाको ठूला आर श्रृंखलाका मोटरसाइकलमा प्रयोग हुने आधुनिक इलेक्ट्रोनिक फिचरहरू समावेश गरिएको छ ।
वाइजेडएफ आर २ मा २०४ सीसी, लिक्विड कुल्ड, फोर भल्ब, डिओएचसी, सिंगल सिलिण्डर इन्जिन जडान गरिएको छ । जुन विल्कुलै नयाँ इन्जिन प्लेटफर्म हो । यो इन्जिनले अधिकतम १०००० आरपीएममा २६.५ पीएस पावर र ८००० आरपीएममा १९.१ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स छ ।
मोटरसाइकलमा यामाहा राइडिङ कन्ट्रोल प्रणाली दिइएको छ, जसअन्तर्गत स्ट्रिट, स्पोर्ट र रेन गरी तीनवटा प्रि सेट राइडिङ मोड उपलब्ध छन् । साथै, राइडरले थ्रोटल रिस्पोन्स, ट्र्याक्सन कन्ट्रोल र क्विकशिफ्टर सेटिङ मिलाएर आफ्नै कस्टम मोड पनि बनाउन सक्छन् ।
यसमा सेमी ड्राइसम्प लुब्रिकेसन र असिस्ट तथा स्लिपर क्लच पनि उपलब्ध छ । यसले एयरबक्स र एक्जस्ट ट्युनिङमार्फत स्पोर्टी आवाज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आर २ मा नयाँ हाई टेन्साइल स्टिल डायमन्ड फ्रेम र पिभोट माउन्टेड एल्युमिनियम डाइ कास्ट स्विङआर्म प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसको चेसिस आर १५ को तुलनामा २.८ किलोग्राम हल्का छ । मोटरसाइकलको कुल तौल १४९ किलोग्राम रहेको छ भने पावर टु वेट रेसियो ५.६२ किलोग्राम प्रति पीएस रहेको दाबी गरिएको छ ।
यसको सिट उचाइ ८१० एमएम, ह्वीलबेस १३४० एमएम, कास्टर एङ्गल २४.५ डिग्री र ट्रेल सेक्सन १०३ एमएम रहेको छ । ब्रेकिङका लागि अगाडि २८२ एमएम फ्लोटिङ डिस्कसहित रेडियली माउन्ट गरिएको फोर पिस्टन क्यालिपर प्रयोग गरिएको छ । साथै, यूएसडी फ्रन्ट फोर्क, एबीएस सिस्टम, एलईडी लाइटिङ, ५ इन्चको कलर टीएफटी डिस्प्ले, टर्न बाइ टर्न नेभिगेसन र यामाहा वाइ कनेक्ड जस्ता फिचरहरू पनि समावेश छन् ।
टप भेरियन्ट एममा भने निलो ह्वील, थ्रीडी लोगो, फक्स स्वेड सिट, सिल्भर स्विङआर्म, विशेष एक्जस्ट फिनिस, स्मार्ट की, एड्जस्टेबल सस्पेन्सन तथा पाँच तहमा समायोजन गर्न मिल्ने क्लच र ब्रेक लिभर जस्ता प्रिमियम फिचरहरू छन् ।


