समय सकिँदा सडक लेन कोर्ने काम ७० प्रतिशत मात्र

काठमाडौं । सडक सुरक्षाका लागि उपत्यका भर जेब्राक्रसिङ तथा सडक लेन हालसम्म ७ हजार ७ सय स्कवायर मिटर बनाइएको छ । कुल ९ हजार ९ सय स्क्वायर मटिर मध्ये ७ हजार ७ सय स्क्वायर मिटर सडक लेन बनाइएको हो । 

सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दिप बाराहीका अनुसार गौशला, एयरपोर्ट, माइतीघर बानेश्वर, सिंहदरवार, जयनेपाल लगायतका मुख्य–मुख्य सडक खण्डमा सडक पूर्वाधार निर्माण अन्तर्गत लेन कोर्ने काम भइरहेको छ । 

आर्थिक वर्ष २०७५÷२०७६ असार २५ गतेसम्ममा काठमाडौं उपत्यकाका मुख्य–मुख्य सडकहरुमा पूर्वाधार निर्माण गरि लक्ष्य राखिएको थियो । सडक पूर्वाधार निर्माण तथा लेन बनाउने काम गत आर्थिक वर्ष भित्र लक्ष्यको ७० प्रतिशत पुरा भएको हो । 

‘हामीले असार २५ गतेसम्ममा सबै ठाउँमा पूर्वाधार निर्माण गर्ने भनेका थियौं तर, लक्ष्य अनुसार पुरा हुन नसके पनि लक्ष्यको ७० प्रतिशत काम पुरा गरेका छौँ,’ बाराहीले मेरोअटोसँग भने । 

सडक पुर्वाधार निर्माण अन्तर्गत ९ हजार ९ सय स्क्वायर मिटरमा नयाँ जेब्राक्रसिङ तथा सडकका लेनहरु कोर्ने काम भइरहेको छ । हाल समेत सडक सुरक्षा तथा ट्राफिक शाखाले पानी नपरेको समयमा लेन बनाउने काम गरिरहेको उनीले जानकारी दिए । 

‘अझै पनि पानी नपरेको बेला राती पेन्टिङ गर्ने काम भइरहेको छ, लेन बनाउन सकिएपछि रेलिङ, बोर्ड लगाउने काम हुनेछ,’ बाराहीले भने । 

काठमाडौं उपत्यकामा सडक पूर्वाधार निर्माण गर्न करिब १० करोड बजेट आवश्यक पर्छ । सडक पूर्वाधारका लागि १६ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेटको १० करोड रुपैयाँ पुराना योजनाहरुमा खर्च भएकाले हाल शाखाले ६ करोड रुपैयाँबाटै सडक सुरक्षाको पूर्वाधार निर्माण गर्ने काम गरिरहेको छ । 

यस्तै सडक पूर्वाधार निर्माण अन्तर्गत मोटरसाइक बक्स समेत निर्माणको काम धमाधम भइरहेको छ । काठमाडौंका मुख्य चोकहरुमा मोटरसाइकल बक्स बनाउनुका साथै त्यसलाई कार्यन्वयनमा ल्याउने काम ट्राफिक प्रहरीलाई सुम्पिएको बाराहीले बताए । 


Back_to_top