‘जीकर एक्स’मा भयो अपडेट, चाँडै नेपाली सडकमा गुड्ने

काठमाडौं । जिली होल्डीङको इलेक्ट्रीक भेहिकल ब्राण्ड जीकरले आफ्नो ‘जीकर एक्स’ मोडलमा अपडेट गरेको छ । कम्पनीले हिजो जुलाई १ तारिखमा अपडेट गरिएको मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले जीकर एक्स मोडललाई दुई भेरियन्टमा लन्च गरेको छ । चीनमा कम्पनीले नयाँ अपडेटेड मोडलमा २१ हजार आरएमबी अर्थात् २ हजार ८८८ डलर डिस्काउन्ट दिने समेत घोषणा गरेको छ ।

चिनियाँ बजारमा जीकर एक्सको सुरुवाती मूल्य २७ हजार ५२० डलर छ । नगद छुटका साथै कम्पनीले आफ्ना ग्राहकहरुलाई थप ५ हजार आरएमबी बराबरको रेफ्रिजरेटर र ७ किलोवाटको होम चार्जर समेत निःशुल्क दिने जनाएको छ ।

जुलाई महिनाभर डिस्काउन्ट अफर चलाएको कम्पनीले आफ्नो बिक्री बढाउन प्रयास गरेको देखिन्छ । सन् २०२५ फेसलिफ्ट मोडल भनेर आएको जीकर एक्समा ७ थरीको नयाँ एक्सटेरियर कलर थपिएको छ । साथै, १९ इन्चको ह्वील स्ट्यान्डर्ड गरिएको छ । यसको ढोका पनि इलेक्ट्रीक अप्सन थप भएको छ ।

इन्टेलीजेन्ट ड्राइभिङ फिचरको लागि सन् २०२५ मोडलमा पाँचवटा क्यामेरा, फाइभ मिलीमीटर वेभ राडार, १२ वटा अल्ट्रासोनीक राडारसहितको एड्भान्स ड्राइभिङ सिस्टम रहेको छ ।

जीकर एक्सको फेसलिफ्टमा एडाप्टीभ क्रुज कन्ट्रोल, लेन चेन्ज असिस्ट, अटोमेटीक पार्किङ असिस्ट, रिमोट स्मार्ट पार्किङ असिस्ट, फर्वाड कोलुजन वार्निङ, ट्राफिक साइन रिकग्नीसन, स्पीड रिमाइण्डर, फ्रन्ट तथा रियर क्रस ट्राफिक अलर्ट जस्ता अत्याधुनिक फिचर रहेका छन् ।

यसको इन्टेरियर मिनीमलीस्टीक रहेको छ । जसमा फ्ल्याट बटम डबल स्पोक मल्टी फङ्सनल स्टेरिङ ह्वील, ८.८ इन्चको रेक्ट्रयाङगुलर इन्ट्रुमेन्ट प्यानल, १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन, २४.३ इन्चको एचयूडी पाउन सकिन्छ । यो ईभीको सेन्टर कन्सोलमा ७ लिटरको स्टोरेज स्पेश, ५० वाटको वायरलेस मोवाइल फास्ट चार्जिङ प्याड छ ।

जीकरले यसमा फोरडी क्लाउड जिरो ग्राभिटी सिट दिएको छ । जसमा थ्री स्पीडको भेन्टीलेसन तथा हिटीङ, २२ वेको इलेक्ट्रीक एड्जस्टमेन्ट तथा २८ डिग्रीसम्मको डिफल्ट लाइङ एङ्गल छ । गाडीमा ५.७ लिटर क्षमताको रेफ्रिजेरेटर पाउन सकिन्छ । यसमा फ्रिजीङ, कुलीङ तथा हिटीङको समेत सुविधा रहेको छ । यसमा टेम्प्रेचर ५० डिग्रीदेखि माइनस १५ डिग्रीसम्मको अप्सन छ ।

जीकर एक्समा कम्प्युट प्लेटफर्मका लागि क्वालकमको स्न्यापड्रागन ८१५५ चिप, फेस रिकग्नेसन तथा १३ वटा यामाहाको स्पीकर समेत रहेको छ ।

जीकर एक्समा ६६ किलोवाट आवरको सीएटीएल टर्नरी लिथियम ब्याट्री प्याक छ । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा सिंगल मोटर अप्सनमा ५६० किलोमिटर र डिउल मोटरमा ५०० किलोमिटरको रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

स्ट्यान्डर्ड फिचरको रुपमा रियर ह्वील ड्राइभ सिंगल मोटर रहेको छ । साथै, फोर ह्वील ड्राइभमा पनि उपलब्ध छ । स्ट्यान्डर्ड ड्राइभ भर्सनमा २०० किलोवाटको मोटर छ भने अल ह्वील ड्राइभमा ३१५ किलोवाटको डबल मोटर छ । यसको टर्क क्रमशः ३४३ र ५४३ न्यूटन मिटर छ ।

नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री वितरण सुरु गर्न लागेको जिकर एक्स पहिलो मोडलको रुपमा बजारमा आउने छ । यसलाई नाडा अटो शो २०२४ बाट बिक्री सुरु गर्ने कम्पनीले योजना बनाएको छ ।


Back_to_top