काठमाडौं । नेपाली बजारमा केही समय अगाडिसम्म इलेक्ट्रीकमा स्कुटरमात्र बिक्री वितरण हुँदै आएकोमा अब भने इलेक्ट्रीक मोटरसाइकलको बिक्री समेत सुरु भएको छ ।
बढ्दो इलेक्ट्रीक सवारीसाधनको बजारलाई मध्यनजर गर्दै बिभिन्न कम्पनीले इलेक्ट्रीक मोटरसाइकल बिक्री वितरण गर्दै आएका छन् । योमा माई ग्रुपले जिनीयस ब्राण्डका इलेक्ट्रीक मोटरसाइल बिक्री नाडा अटो शोबाट सुरु गरेको छ भने दिगो ग्रुपले सुपर शोको ब्राण्डका मोटरसाइकल बिक्री गर्दै आएको छ ।
जिनीयस ब्रान्डले नाडा अटो शोलाई लक्षित गरेर डब्ल्यु–५४, एक्सवाइ–३४, एक्सवाइ–५४, डब्ल्यु–३४, पी–३४, एक्स–५४ मोडल नेपाल ल्याएको हो ।
त्यसैगरि सुपर शोको ब्राण्डले सुपर सोको टीएस र सुपर सोको टीसी मोडल बिक्री वितरण गर्दै आएको छ ।
यी दुबै ब्राण्डका मोटरसाइकल तथा स्कुटर नाडा अटो शो २०१९मा प्रदर्शनी भएका थिए भने अहिले बजारमा बिक्री सुरु भएको छ ।
जिनीयस ब्रान्डले ल्याएका बाइकहरु नेपाली सडकमा गुड्ने इन्ट्री लेवल कारभन्दा बढी टर्क जेनेरेट गर्ने किसिमका छन् । कम्पनीले ल्याएको डब्ल्यु–५४ मोडलले २०६ एनएम टर्क उत्पादन गर्छ । यसमा उपलब्ध ७१ भोल्ट ४० एचको लिथीयम ब्याट्री दिइएको छ ।
कम्पनीले ल्याएका अधिकांश मोटरसाइकलले एकपटकको फुल चार्जमा १२० किलोमिटर माइलेज दिने जनाइको छ । यी मोटरसाइकलहरुको मूल्य २ लाख ७८ हजार रुपैयाँदेखि ३ लाख ७८ हजार रुपैयाँसम्म रहेको छ ।
उता सुपर सोको नामक अस्ट्रेलियन ब्राण्डको दुई मोडलका मोटरसाइकल नेपाल आएको हो । जसमा सुपर सोको टीसी र सुपर सोको टीसी म्याक्स हुन् ।
सुपर सोको टीसी बाइकले १२० एनएम टर्क जेनेरेट गर्छ भने सुपर सोको टीसी म्याक्स बाइकले १५० एनएम टर्क उत्पादन गर्छ । यी दुबै बाइकमा एक पटकको फुल चार्जमा १६० किलोमिटर यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।
सुपर शोको मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ । यसमा फुल एलइडी हेडल्याम्प, डिजिटल अटो लाइट एडजस्टेड कन्सोल, रिमोर्ट कि कन्ट्रोल जस्ता बिशेषता रहेका छन् । कम्पनीले टीसी मोडलको मूल्य ३ लाख ४८ हजार रुपैयाँ तोकेको छ भने टीसी म्याक्सको मूल्य ५ लाख ४८ हजार रुपैयाँ तोकेको छ ।


