केटीएमले आगामी केही वर्षभित्र नौ नयाँ मोटरसाइकल बजारमा ल्याउने भएको छ । प्रिमियम मोटरसाइकल सेग्मेन्ट अन्तर्गतका शिर्ष तीन कम्पनीमध्येको एक केटीएमले आकर्षक पावर, लुक्स तथा डिजाइनको मोटरसाइकल ल्याउने भएको हो ।
कम्पनीले १२९० सीसीदेखि १२५ सीसी क्षमताको एडभेन्चर ट्राभल, नेकेड, स्पोर्ट सेग्मेन्टका मोटरसाइकल बजारमा ल्याउने योजना अगाडि बढाएको छ ।
कम्पनीले सार्वजनिक गर्ने भएको केटीएम ३९० एडभेन्चर मोटरसाइकल अलोय ह्वीलसहित आउने छ । प्रिमियम ड्युल स्पोर्ट सेग्मेन्टमा निर्माण भएको यो मोटरसाइकलको डिजाइन फ्लगशिप १२९० सुपर एडभेन्चर मोटरसाइकलबाट लिइएको हो ।
यसमा ३७३ सीसी इन्जिन क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर इन्जिनले ४४ पीएस पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिन केटीएम ३९० ड्युक र आरसी ३९० मोडलमा पनि रहेको छ ।
बाइकमा ठुलो साइजको ह्वील, ड्युल स्पोट्स टायर, लामो दुरीको यात्राको लागि उत्कृष्ट सस्पेन्सन, पेनिअर माउन्ट्स, कम्फर्टेबल सिटिंग पोजिशन, हाई इन्टेनसिटी हेडल्याम्पस, विन्डस्कृन, ड्युल डिस्क ब्रेक तथा एबीएस सिस्टम दिइएको छ ।
यस्तै, केटीएम २५० एडभेन्चर मोटरसाइकल २४८ सीसी इन्जिनमा आउनेछ । उक्त इन्जिनले ३० पीएस पावरका साथै २४ एनएम टर्क उत्पादन गर्छ । नेकेड भर्सनमा आउने यो मोडलमा एबीएस, हेलोजन हेडल्याम्प, टिएफटी इन्स्ट्रुमेन्ट प्यानल लगाइएको छ । कम्पनीले २५० एडभेन्चर मोटरसाइकललाई आइसीएमए मोटर शोमा प्रदर्शन गर्ने जनाएको छ ।
यसका साथै, कम्पनीले ४९० प्लाटफर्म अन्तर्गत ४९० ड्यूक, केटीएम आरसी ४९०, केटीएम एडभेन्चर, केटीएम सुपर मोटो र ४९० इन्ड्युरोगरि पाँच मोडल ल्याउने भएको छ । यी बाइकमा ४९९ सीसी प्यारालल ट्वीन लिक्वीड कुल्ड डिओएचसी इन्जिन दिने जनाइएको छ । यी मोटरसाइकल २०२० पछिमात्रै बजारमा आउने छन् । त्यसैगरी कम्पनीले सुपर मोटो रेन्ज अन्तर्गत दुई मोटरसाइकल ल्याउने भएको छ । त्यसमा ८९० र ७९० रेन्जका मोटरसाइकल हुने छन् ।


