काठमाडौं । बाहिरी चक्रपथ निर्माणको जिम्ममा चिनियाँ कम्पनी चाइना कम्यूनिकेशन कन्ट्रक्सन कम्पनीलाई दिने तयारी भएको छ । लगानी बोर्डले चिनियाँ कन्ट्रयाक्टर कम्पनीलाई बाहिरी चक्रपथ निर्माणको जिम्ममा दिन प्रारम्भिक तयारी थालेको हो ।
गतवर्ष गरिएको लगानी सम्मेलन मार्फत चाइना कम्यूनिकेशन कन्ट्रक्सन कम्पनीले बाहिरी चक्रपथ निर्माणमा इच्छा जाहेर गर्दै लगानी प्रस्ताव गरेको थियो । लगानी प्रस्ताव गर्ने मध्ये चाइना कम्यूनिकेशन कन्ट्रक्सन कम्पनीलाई सरकारले आर्थिक संक्षिप्त स्वीकृति सूचीमा राखेको थियो । उक्त सूची परेको चाइना कम्यूनिकेशन कन्ट्रक्सन एक मात्र कम्पनी थियो । त्यसैले उसले यो निर्माण ठेक्का पाउने लगभग निश्चित रहेको छ ।
हाल बोर्डले उक्त कम्पनीसँग प्रस्ताव पेश गर्न लगाउने तयारी गरिरहेको जनाएको छ । बोर्डका प्रवक्ता बलराम रिजालका अनुसार ‘रिपोर्ट फर प्रोजेक्ट’ (आरफपी) तयार पारेर चिनियाँ कम्पनीलाई दिने तयारी भइरहेको हो ।
‘आरएफपी तयार पारेर दिने प्रकृया भइरहेको छ, उसले त्यो आरएफपी अनुसार आफ्नो प्रस्ताव पेश गर्नु पर्ने छ,’ रिजालले भने ।
निचियाँ कम्पनीले आफ्नो प्रस्तावमा बाहिरी चक्रपथ कसरी निर्माण गर्ने, कतिमा निर्माण पुरा गर्न सकिन्छ, कहाँ के परिवर्तन गर्नु पर्छ र उसले कति समयमा काम सक्न सक्छ लगायतका जानकारीहरु उल्लेख गर्नुपर्नेछ ।
उक्त प्रस्ताव आएपछि भौतिक पूर्वाधार र टेक्नीकल कमिटीबाट सो प्रस्तावको अध्ययन हुने रिजालले जानकारी दिए । त्यसपछि उक्त प्रस्ताब उपत्यका विकास प्राधिकरण मार्फत मूल्यांकनका लागि मन्त्रालयमा जाने छ । सो प्रतिवेदन अनुसार चिनियाँ कम्पनीलाई ठेक्का दिने कि नदिने टुंगो लाग्ने छ ।
बाहिरी चक्रपथको निर्माणको अनुमानित लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
बाहिरी चक्रपथका चुनौँती
बाहिरी चक्रपथ निर्माण गर्ने कुरा अहिले भने जती सहज नहुने रिजाल बताउँछन् । उनका अनुसार बाहिरी चक्रपथ निर्माणका क्रममा प्राविधिक, आर्थिक चूनौतीहरु धेरै आउन सक्ने सम्भावना रहेका छन् । बाहिरी चक्रपथ निर्माणका क्रममा ल्याण्ड पुलिङ एउटा चूनौँतीको रुपमा रहेको छ भने त्यसको पुरानो संरचना अर्को चुनौती रहेको छ ।
कुल लम्बाइ ७१.९३ किलोमिटर रहेको बाहिरी चक्रपथ निर्माणका लागि सडकको केन्द्रबाट दायाँ–बायाँ २ सय ५० मिटर जग्गा ल्यान्डपुलिङमार्फत लिनुपर्ने छ ।
सो सडक ५० मिटर चौडाको बनाइने छ । ल्याण्ड पुलिङ गरेर लिइएका जग्गामा आवश्यक सबै भौतिक संरचना निर्माण गरिने छ । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा आपाङ्गता मैत्री पेटीको समेत ब्यबस्था गरिने छ ।
सरकारको प्राथमिकतामा परेन
उपत्यका विकास प्राधिकरणका योजना प्रमुख दिलिप भण्डारीका अनुसार बाहिरी चक्रपथको काम लगानी बोर्डले लगानी जुटाउनका लागि मात्र लिएको हो । लगानी आएपछि सो काम विकास प्राधिकरणले आफै हेर्ने छ ।
विगतमा सो सडक निर्माण सरकारको प्राथमिकतामा नपरेको उनले बताए ।
‘त्यस बेला बाहिरी चक्रपथ निर्माण सरकारको हाई प्राइरिटीमा परेन । हामीले मन्त्रालयमा नेपाल सरकारले लगानी गर्नेगरी प्रस्ताव गरेका थियौँ तर, सरकारले आफै बनाउन नसक्ने भएपछि लगानी सम्मेलन मार्फत प्रस्ताव माग गरेको हो’, भण्डारीले भने ।
नेपाल सरकारले २०७५ साल चैत्र १५ र १६ गते लगानी सम्मेलन आयोजना गरेको थियो ।


