मोट्रेक्सको लगानी स्वीकृत भएको एक वर्ष पूरा, कहाँ पुग्यो नेपालमै कार बनाउने योजना

काठमाडौं । कोरियन इन्फोटेन्टमेन्ट सिस्टम निर्माता कम्पनी मोट्रेक्सले नेपालमा गाडी एसेम्बल गर्न लगानी बोर्डबाट स्वीकृति लिएको १ वर्ष पुरा भइसकेको छ । २०७५ चैत्र १ गते लगानी बोर्डको ३५औँ बैठकले नेपालमै गाडी एसेम्बल गर्न मोट्रेक्स कम्पनीलाई स्विकृति दिएको थियो ।

मोट्रोक्सले त्यसको लागि नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव पेश गरेको थियो । नेपालमा कोरोना संक्रमणको कारण लकडाउन गर्नुअघि नै उसलाई स्वीकृति दिएको एक वर्ष पुरा भएको हो । लगानी सम्मेलनको मुखमा बोर्डले उक्त लगानी स्वीकृत गरेको थियो । तात्कालीन बोर्डका सिइओ महाप्रसाद अधिकारीले कोरियन कम्पनीको गाडी मोट्रेक्सले नेपालमा एसेम्बल गर्ने जानकारी दिएका थिए ।

लगानीको विषयमा मोट्रेक्सले काम अगाडि बढिरहेको जनाएको छ । लगानी बोर्डपनि त्यसको धेरै काम अगाडि बढिरहेको बताउँछ । तर, देखिनेगरि कुनैपनि काम हुन सकेको छैन ।

कोभिड-१९ को संक्रमण फैलनुअघिसम्म कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा खोजिरहेको लगानी बोर्ड श्रोतको भनाई छ ।

उद्योग सञ्चालनका लागि जग्गा लिन वातावरण विभागको स्वीकृति, वातावरणिय प्रभाव मूल्याङ्क लगायतका प्रक्रिया पुरागर्नु पर्ने भएकाले यी काम अगाडि बढी रहेको देखिन्छ । जग्गा किनेपछि उद्योग रजिष्टर गर्नुपर्ने हुन्छ । फेरी राष्ट्र बैंकको अनुमति लिने लगायतका धेरै प्रकृया यथावतनै रहेको लगानी बोर्ड श्रोतले जनाएको छ ।

‘नेपालमा प्रकृया धेरै छ, यी प्रकृयाहरुका क्रममा उद्योग खडा नभएसम्म काम देखिन नसकेको हो । अहिले कोभिड-१९ का कारण केही काम भएको छैन, नत्र धेरै काम कम्पनीले गरिसकेको हुने थियो’, लगानी बोडका एक अधिकारीले भने ।

नेपालमा सवारी साधन उत्पादनको सम्भावना कम

पूर्णरुपमा सवारी साधन नेपालमा बनाउने सम्भावना नै नभएको लगानी बोर्डका कन्सल्टेन्ट आशिस गजुरेलको बुझाई छ । ‘हामीसँग गाडी बनाउन आवस्यक कच्चा पदार्थ नै छैन, त्यसले गर्दा बाहिर भन्दा यहाँ बन्ने गाडी महंगो पर्न जान्छ,’ गजुरेलले भने ।

विदेशी लगानीको लागि प्रस्ताव आए पनि भारतबाट आयात हुने सवारीसँग नेपालमा बन्ने सवारीले प्रतिस्पर्धा गर्न नसक्ने उनको तर्क छ ।

‘ठूलो संख्यामा भारतमा गाडी उत्पादन हुन्छन् । त्यहीबाट एसेम्बल किट ल्याएर यहाँ बनाउनेसम्म हुन्छ । तर, यसले नेपालको चाहना पुरा गर्छ वा गर्दैन यो अर्को विषय हो’, गजुरेलले भने । मोट्रेक्स, हुन्डाई लगायतका कम्पनीले नेपालमा सवारी साधन एसेम्बल यूनिट लगाउने प्रयास गरिरहेका छन् ।


Back_to_top