अर्को हप्ता नेपाल आउने ‘जावा ४२’ लाई टक्कर दिन होन्डाले ल्याउला ‘हाइनेस सिबी ३५०’

काठमाडौं । आगामी हप्ताबाट नेपालमा बिक्री सुरु हुन लागेको नयाँ ब्राण्ड जावाका दुई मोटरसाइकल नेपाल आउँदै छन् । यस्तोमा जावा ४२ लाई टक्कर दिनेगरि होन्डाले गतहप्ता भारतमा हाइनेस सिबी ३५० क्लासिक मोटरसाइकल बजारमा उतारेको छ ।

यस्तोमा होन्डाले हाइनेस ३५० लाई नेपाल ल्याउने हो भने उक्त मोडलले जावा ४२ लाई सिधा टक्कर दिने देखिन्छ । क्लासिक मोटरसाइकलमा पारङ्गत जावा भारतीय कम्पनी महिन्द्राले किनेर भारतमा नै उत्पादन गरेको मोडल हो भने, होन्डा हाइनेस सिबी ३५० होन्डाले भारतमा नै उत्पादन गरेको क्लासिक मोडल हो ।

यस्तोमा भविष्यमा यी दुबै उत्पादन बीच नेपाली बजारमा पनि प्रतिस्पर्धा हुने देखिन्छ । यी दुई मोटरसाइकलमा समेटिएका फिचरको बारेमा धेरैलाई चासो हुनु स्वाभाविक हो ।

इन्जिनको कुरागर्दा हाइनेस ३५० मा ३४८ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, ओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको ट्रान्समिसन जडान गरिएको छ ।

त्यस्तै जावा फोर्टी टूमा २९३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको डीओएचसी इन्जिनले २७ बीएच पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको ट्रान्समिसन जडान गरिएको छ ।

मोटरसाइकलमा रहने अर्को महत्वपूर्ण फिचर सस्पेन्शन हो । दुबै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क सस्पेन्शन दिइएको छ भने पछाडि होन्डाले ट्वीन रियर शक र जावाले ट्वीन ग्यास क्यानिस्टर सस्पेन्शन दिएको छ ।

त्यसैगरि होन्डा हाइनेसको अगाडि ३१० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा कम्पनीले डबल च्यानल एबीएस दिएको छ । जावाले फ्रन्टमा २८० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिएको । यसमा सिंगल च्यानल एबीएस दिइएको छ ।

यी दुबै मोटरसाइकल क्रुजर डिजाइनमा उत्पादन भएका हुन् । अहिले नेपालमा क्रुजर मोटरसाइकलमा रोयल इन्फिल्डको एकल मार्केट रहेको छ । यी दुई मोटरसाइकल नेपाल भित्रदा रोयल इन्फिल्डलाई धक्का लाग्ने पक्का जस्तै रहको छ ।

यी दुई मोटरसाइकल भन्दा रोयल इन्फिल्ड केही सस्तो हुने देखिन्छ । यी दुबै मोटरसाइकलको मूल्य ६ लाखभन्दा माथि पर्ने अनुमान गरिएको छ ।


Back_to_top