यस्तो छ भेन्यूभन्दा कम मूल्यमा आउने हुन्डाईको नयाँ एसयूभी

काठमाडौं । हुन्डाईले नयाँ माइक्रो एसयूभीको सडक परिक्षण सुरु गरेको छ । करिब एक वर्षअघि नै हुन्डाईले नयाँ एसयूभी ल्याउन लागेको समाचार हामीले लेखेका थियौं । अब यसको प्रडक्सन मोडलको सडक परिक्षण सुरु भएको हो ।

हुन्डाईले साना एसयूभीको मागलाई सम्बोधन गर्न ल्याउन लागेको आफ्नो सबैभन्दा सानो एसयूभी विशेषगरि भारत, इन्डोनेशिया, नेपाल जस्ता देशलाई केन्द्रमा राखेर निर्माण गरिएको हो ।

हुन्डाईले सन् २०१८ मा ‘एएक्स’ नामबाट यसको प्रटोटाइप निर्माण गरेर प्रदर्शनी गरेको थियो । यसले बजारमा नयाँ ब्रेन्चमार्क कायम गर्ने कम्पनीले अनुमान गरेको छ । संम्भवत यसको सिधा प्रतिस्पर्धा टाटा ‘एचबीएक्स’ सँग हुने छ । एचबीएक्सको पनि टाटाले विभिन्न स्थानमा सडक परिक्षण गरिरहेको छ ।

हुन्डाई भेन्यूको जस्तै डिजाइन यसमा प्रयोग गरिएको सार्वजनिक भएको तस्विरबाट बुझ्न सकिन्छ । ३७०० देखि ३८०० एमएमसम्म यसको लम्बाई रहने अनुमान गरिएको छ । अगाडि हुन्डाईको ठूलो ग्रिल, बक्सी डिजाइन, भेन्यूको जस्तै हेडल्याम्प, १५ इन्चको अलोय ह्वील जस्ता फिचर यसमा रहने छन् ।

कम्पनीले यसलाई आफ्नो के१ प्ल्याटफर्ममा निर्माण गरिरहेको छ । माइक्रो एसयूभीमा हुन्डाई ग्राण्ड आई १० नियोसमा दिएको १.२ लिटर इन्जिन रहने अनुमान गरिएको छ । संम्भवत यसमा हुन्डाई सेन्ट्रोमा रहेको १.१ लिटर पेट्रो इन्जिन अप्सन पनि उपलब्ध रहने छ । उक्त इन्जिन युक्त भेरियन्ट इन्ट्री लेवल हुने अनुमान गर्न सकिन्छ ।

यसले अहिले नेपाली बजारमा उपलब्ध मारुती सुजुकी इग्नीस र महिन्द्रा केयूभी १०० सँगपनि प्रतिस्पर्धा गर्ने छ ।

नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको हुन्डाईको ग्राण्ड आई १० को जस्तै मूल्यमा नयाँ माइक्रो एसयूभी आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top