काठमाडौं । पछिल्ला ५ वर्षमा नेपाली बजारमा थुप्रै कार ब्राण्डले विक्री सुरु गरेका छन् । विशेषत प्रिमियम सेग्मेन्टमा आएका नयाँ ब्राण्डले निकै राम्रो प्रभाव छाडेका छन् ।
पछिल्लो ५ वर्षमा प्यूजो, रेनो, जीप, बीएमडब्ल्यू, एमजी, डिएफएसके, बगुवार्ड जस्ता ब्राण्ड आधिकारीक वितरक नियुक्त भएरै नेपाल आएका छन् भने अउडी, ल्याण्डरोभर र टेस्ला जस्ता ब्राण्डले आधिकारीक विक्रेता नभई अन्य बाटो अपनाएर नेपाल प्रबेश गरेका छन् ।
नेपाली बजारमा आएका यी सबै ब्राण्डले आफ्नो उपस्थितिलाई बलियो बनाउन मेहिनत गरिरहेका छन् । संख्यात्मक वृद्धिमा रेनोले बाजी मारेको छ । रेनोको आधिकारीक विक्रेता एडभान्स अटोमोवाइलले नेपालमा करिब ३ हजार ५ सय यूनिट गाडी विक्री गरिसकेको जनाएको छ ।

यसका अलावा प्रिमियम सेगमेन्टमा लाइफ अटोमोवाइलले ल्याएको जीप र लक्ष्मी प्रिमियमले ल्याएको बिएमडब्ल्यूको उपस्थिति बलियो देखिएको छ । जीपले सन् २०१८ मा आफ्नो कम्पास एसयूभीलाई बजारमा ल्याएको थियो भने बिएमडब्ल्यू केहि महिना अघिबाट मात्र नेपालमा विक्री सुरु गरेको हो ।

पारामाउन्ट मोटर्सले विक्री गर्दै आएको एमजी (मोरिस ग्यारेज) को इलेक्ट्रीक कारले नेपालमा राम्रै बजार बनाउन सफल भएको छ । कम्पनीले विक्री गर्ने इजेडएस निकै सफल इलेक्ट्रीक एसयूभी हो भने कम्पनीले जेडएस र जिएस एसयूभी पनि विक्री गर्दै आएको छ ।

कुजु इन्टरनेशनलले नेपाल ल्याएको डिएफएसके ब्राण्ड एसयूभी मात्रै विक्री गर्ने रणनीति सहित नेपाली बजारमा रहेको छ भने, डिएसएम ग्लोवलले बगुवार्डको केहि यूनिट एसयूभी भर्खरै नेपाल ल्याएको छ । उसको रणनीति पनि एसयूभी मात्रै विक्री गर्ने रहेको छ ।

साँग्रिला मोटर्सले विक्री गर्ने प्यूजोका एसयूभी पनि नेपाली सडकमा देखिन थालेका छन् । फ्रेन्च कम्पनी प्यूजोका २००८ र ३००८ मोडल नेपालमा राम्रै संख्यामा विक्री भइरहेको छ ।
तर, ल्याण्डरोभर, अउडी र टेस्ला भने आर्थिक ऐनको छिद्रमा टेकेर नेपाल ल्याइएका ब्राण्ड हुन् । यी कम्पनीको आधिकारीक विक्री केन्द्रदेखि सर्भिस सेन्टरसम्म उपलब्ध रहेका छैनन् ।

