काठमाडौं । १५० सीसी सेग्मेन्टका मोटरसाइकल नेपालमा सर्वाधिक विक्री हुने गरेका छन् । धेरै विक्री हुने यो सेग्मेन्टमा बजाज, होन्डा, यामाहा, टीभीएस, सुजुकी र हिरोले मोटरसाइकल उपलब्ध गराउँदै आएका छन् । नेपालमा धेरै मोटरसाइकल विक्री गर्ने कम्पनीहरु समेत यी नै हुन् ।
विक्री तथ्यांकलाई नियाल्दा बजाज पल्सर १५०, यामाहा एफजेडएस भि थ्री, अपाचे आरटीआर १६० फोर भी, होन्डा यूनिकर्न, सुजुकी जिक्सर र हिरो एचिभरको विक्री राम्रो छ । यी मध्यपनि बजाज पल्सर र यामाहा एफजेडएस भि थ्री राम्रो विक्री हुने मोडलमा पर्छन् भने टीभीएस आरटीआर १६० फोर भी र होन्डा यूनिकर्न पछ्याइरहेका छन् ।
बजारमा माग उच्च रहेसँगै कम्पनीहरुले पनि यी मोटरसाइकलमा सुरक्षा र अन्य सुविधाका फिचरहरु थप गर्दै आएका छन् । नेपालको सडक अवस्था र पहाडी क्षेत्रलाई हेर्दा पावरफुल मोटरसाइकलको आवश्यकता देखिएपनि महंगो मूल्यको कारण धेरै मानिसको रोजाईमा १५० सीसी क्षमताका मोटरसाइकल पर्दै आएका हुन् । मोटरसाइकलमा हुनुपर्ने अधिकांश फिचर उपलब्ध हुने र संचालन खर्चसमेत कम हुने हुँदा यो सेग्मेन्टका मोटरसाइकलको विक्री उच्च रहेको विक्रेता कम्पनीहरुको भनाई छ ।
अहिले बजारमा २ रहेका चल्तीका ब्राण्डले २ लाख ३० हजारदेखि ३ लाख ३० हजारसम्मको मूल्य राखेर आफ्ना उत्पादन विक्री गर्दै आएका छन् । यस्तोमा हरेक ब्राण्डले विक्री गर्ने र धेरै रुचाईएका मोडलको मूल्यलाई हामीले यहाँ उल्लेख गरेका छौं ।

बजाज पल्सर-१५० नेपालमा सबैभन्दा धेरै विक्री हुने मोडल हो । यसको मूल्य २ लाख ६३ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । १४९ सीसी क्षमताको इन्जिन रहेको पल्सर १५० ले ८००० आरपीएममा १४ पीएस पावर जेनेरेट गर्छ । यसलाई डबल डिस्क भेरियन्टमा पनि कम्पनीले विक्री गर्दै आएको छ ।

यामाहा एफजेडएस भी ३ अर्को नेपालमा धेरै रुचाइएको मोटरसाइकल हो । फराकिलो टायर तथा मोटो बडीमा आकर्षक हेडलाइटको कारण यसलाई मनपराउने बढेका हुन् । ३ लाख २९ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री हुँदै आएको यो मोटरसाइकलमा पनि १४९ सीसी क्षमताको इन्जिन रहेको छ । यसका अलावा यामाहाले १५० सीसी सेग्मेन्टमा नै आर १५ भी ३, एफजेड, एफजेडएस, एमटी १५ जस्ता मोटरसाइकल विक्री गर्दै आएको छ ।

टीभीएस अपाचे आरटीआर यसको रेसिङ डिएनका कारण चर्चामा रहन्छ । कम्पनीले २ लाख ८० हजार ९०० सुरुवाती भेरियन्टको मूल्य तोकेर यसको विक्री वितरण गर्दै आएको छ । यसमा रहेको १५९ सीसी क्षमताको इन्जिनले ८५०० आरपीएममा १६.२८ पीएस पावर र १४.८ एनएम टर्क जेनेरेट गर्छ । यो सेग्मेन्टकै पावर फुल मोटरसाइकल हो । कम्पनीले यसमा विभिन्न भेरियन्ट उपलब्ध गराएको छ ।

होन्डा युनिर्कन कुनै समयको चर्चित मोटरसाइकल हो । बीचमा बन्द भएर एक वर्षअघि पुनः नेपाल आएको यो मोटरसाइकलमा १४९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.७२ पीएस पावर र १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य बजारमा २ लाख ६३ हजार ९०० रुपैयाँ रहेको छ । यसका अलावा कम्पनीले १६० सीसी हर्नेट मोटरसाइकल समेत विक्री गर्दै आएको छ ।

सूजूकी जिक्सर–१५० निकै स्मार्ट मोटरसाइकल हो । यसको मूल्य ३ लाख २८ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । यसको स्टाइलिस लुक्स नै यसको मुख्य विशेषता हो । १५४ सीसी क्षमताको इन्जिन रहेको मोटरसाइकलले ८००० आरपीएममा १४.५९ बीएच पावर प्रदान गर्छ ।

हिरोले नेपालमा विक्री गर्दै आएको एचिभर १५० सेग्मेन्टकै सबैभन्दा सस्तो मोटरसाइकल हो । यसको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ । यसमा पनि १४९ सीसी क्षमताको इन्जिन रहेको छ । यसमा रहेको इन्जिनले अधिकतम ८००० आरपीएममा १३.४ बीएच पावर प्रदान गर्ने छ ।
यसका अलावा नेपाली बजारमा बेनेली १५०, सीएफ मोटो एनके १५०, यामाहा एसजेड आरआर जस्ता अन्य धेरै मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेको छ ।

