काठमाडौं । मलेशियन ब्राण्ड प्रटोनले नेपाली बजारमा केहि महिना अघि आफ्नो पहिलो सेडान कार सागा नेपाल ल्याएको थियो । तीन दिन अघि मात्रै कम्पनीले आफ्नो दोस्रो मोडलको रुपमा एक्स ७० एसयूभी नेपाल ल्याएको थियो । अब कम्पनीको लक्ष्य अर्को एसयूभी ‘एक्स ५०’ हो ।
कम्पनी स्रोतका अनुसार पहिलो लटमा नेपाल आएको सेडान सागा बेचिसकेको छ भने नयाँ आएको एक्स ७० पनि धेरै बुकिङ भइसकेको जनाएको छ । एक्स ७० लाई कम्पनीले अप्रिल अन्तिममा मात्रै आधिकारीक लञ्च गर्ने योजना बनाएको छ ।
‘हामी आक्रमक बजार विस्तारभन्दा पनि ग्राहकको लागि आवश्यक विक्रीपछिको सेवा र सुविधालाई पनि सँगसँगै विस्तार गरेर अगाडि बढ्ने योजनामा छौं । त्यसैले हामी विस्तारै तर, बलियो बजार विस्तारको रणनीतिमा छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले सन् २०२१ को अन्त्यसम्ममा एक्स ५० नेपाल ल्याउनेगरि काम गरिरहेको छ ।
एक्स ७० भन्दा सानो र कम मूल्य
अहिले कम्पनीले नेपाल ल्याएको एक्स ७० को तुलनामा एक्स ५० साइजमा सानो रहेको छ भने मूल्यपनि कम हुने छ । अहिले नेपाल आएको एक्स ७० को मूल्य ८० लाखदेखि ९५ लाखसम्म पर्ने अनुमान गरिएको छ । तर, एक्स ५० को मूल्य त्योभन्दा कम हुने छ ।

विशेषत सुरक्षा फिचरमा निकै ध्यान दिएर उत्पादन भएको एक्स ५० मा ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल (इएससी), अटोनोमश इमर्जेन्सी ब्रेकिङ (एइबी), एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्रि क्यामेरा जस्ता फिचर दिइएको छ ।
कम्पनीले यसको अन्तर्राष्ट्रिय बजारमा विक्री वितरण गर्दै आएको मोडलमा १.५ लिटर टिजिडीआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १७७ पीएस पावर र २५५ एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ । चालकले स्टेरिङ मोड र ड्राइभ मोड छनोट गर्न सक्ने छन् ।
एक्स ५० मा फुल एलइडी हेडल्याम्प, १८ इन्चको अलोय ह्वील, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बीनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता विशेषता पाउन सकिन्छ ।


