चिप्स सर्टेजले कार निर्माता समस्यामा, नेपालमा पनि देखियो असर

काठमाडौं । आधुनिक सवारी साधन बन्नका लागि बाहिरी आखाँले देखिने पार्टसहरु इन्जिन, गियरबक्स, च्यासीस, ह्वील, टायर, ग्लास, प्लास्टीक, स्टील मात्र होइन यसमा धेरै प्रकारका इलेक्ट्रोनीक कन्डक्टर तथा माइक्रो चिप्सहरु जस्ता पार्टस् पनि आवस्यक पर्न थालेको छ ।

अहिलेको आधुनिक कारहरुमा इन्जिनमा कति फ्यूल पठाउनेदेखि विण्ड स्कृनको वाइपर वा हेडलाइट कति बेला चलाउने, एयरव्याग कस्तो अवस्थामा खुल्नेदेखि क्लाइमेट कन्ट्रोल जस्ता फङ्सनहरु कम्प्युटर चिप्सको मद्दतले संचालन हुने गरेको छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै एउटा कारमा झण्डै १ सयवटा जति माइक्रो चिप्सहरुको प्रयोग हुन थालेको छ । अझ कारमा व्यापकरुपमा कनेक्टेड फिचर र अटोनोमस प्रविधिको विकास भएसँगै चिप्सको मागमा अत्याधिक वृद्धि हुँदै गएको छ ।

विश्वव्यापीरुपमा कोरोनाको कहर फैलिएसँगै चिप्सको सप्लाई चेनमा नराम्रो धक्का पुगेको छ । जसको कारण अटोमोवाइल कम्पनीहरुले अन्य पार्टसकाे उपलब्धता भएता पनि कम्प्यूटर चिप्स तथा सेमीकन्डक्टर नपाउँदा उत्पादनमा कटौती गर्न बाध्य भएका छन् ।

गत शुक्रबार मात्रै जापनीज अटो जायन्ट टोयोटाले आगामी सेप्टेम्बर महिनाको उत्पादनमा ४० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । हालै मात्र अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले आफ्नो अमेरिकी दुईवटा उत्पादन प्लान्टको दोहोरो सिफ्ट बन्द गर्ने निर्णय गरेको छ । निसानले अमेरिकी र मेक्सीको प्लान्टमा हुने उत्पादनलाई घटाएको छ । फक्सवागेनले आफ्ना १० हजार कामदारलाई घर पठाउन बाध्य भएको जनाएको छ ।

भारतीय अटोमोवाइल कम्पनीहरु पनि यो समस्याबाट अछुतो रहन सकेनन् । चिप्सको सप्लाईमा आएको मन्दिका कारण ग्राहकरुले आफुले रोजेको सवारी साधन पाउन धेरै समय कुर्नु पर्ने बाध्यता भएको छ ।

नेपाली बजारको झण्डै ९७ प्रतिशत सवारी साधन भारतीय उत्पादनमा निर्भर रहेको छ । महिन्द्राका उत्पादनहरु विगत १ वर्षदेखि माग अनुसारको सप्लाई भइरहेको छैन । हुन्डाई, सुजुकी, टाटा मोटर्सका भारतीय प्लान्टबाट उत्पादन हुने कतिपय कार मोडल खरिद गर्न कुर्नुपर्ने वाध्यता सृजना भएको छ ।

अटोमोवाइलमा कसरी बिग्रियो सप्लाई चेन ?

कोभिड १९ को कहरसँगै कारको विक्रीमा विश्वव्यापी मन्दी आएको थियो । उक्त समयमा धेरै कार कम्पनीहरुले आफ्नो उत्पादनलाई कटौती गरे । अझ कतिपय कार प्लान्ट त महिनौ बन्द भएका थिए । यस्तो समयमा अटोमोवाइल उत्पादकहरुले कम्प्युटर चिप्सको भविष्यका अर्डरहरु रद्ध गरे । तर, सोही समयमा विश्वव्यापी रुपमा फैलिएको डिजिटल प्रविधि प्रयोग तथा ‘वर्क फ्रर्म होम कल्चर’ले अफिसियल काम गर्ने परिपाटीको विकास गर्यो ।

शिक्षा क्षेत्र, अनलाइन सपिङ तथा बैकिङ जस्ता गतिविधिले स्मार्टफोन, ल्यापटप, वेभक्याम, मोनीटर जस्ता वस्तुहरुको माग धेरै गुणाले बढाइदियो । फलस्वरुप कन्जुमर इलेक्ट्रोनिक्स उत्पादकहरुले भने आफ्नो उत्पादन क्षमतामा वृद्धि गर्दै लगे । अटोमोवाइल क्षेत्रले रोकेको अर्डर कन्जुमर इलेक्टोनिक्स कम्पनीहरुले एकैपल्ट सबै खरिद गरिदिए ।

जब अटोमोवाइल क्षेत्रको विक्रीमा ‘रिवाउन्स’ सुरु भयो, तब अटोमोवाइल कम्पनीहरु चिप्स सप्लायर कहाँ दौडिन लागे तर, उनिहरु सप्लाई लाइनको पुछारमा पुगिसकेका थिए । भविष्यको धेरै समयसम्मको सप्लाई कन्जुमर इलेक्ट्रिोनिक्स कम्पनीहरुले बुक गरेका कारण अटो निर्माता कम्पनीहरु अहिले आएर आफ्नो नियमित उत्पादन नै कटौती गर्न वाध्य भए ।

चिप्स कम्पनीहरुले पनि अटोमोवाइललाई प्राथमिकतामा राखेका पक्कै छैनन् । विश्व बजारको सबै सेमीकन्डक्टर उत्पादनको मात्र ८ प्रतिशत हिस्सा अटोमोवाइल कम्पनीले उपभोग गरिरहेका छन् । उदारणको लागि एप्पलले वार्षिकरुपमा चिप्सको लागि ५६ बिलियन अमेरिकी डलर खर्च गर्छ भने, टोयोटा जत्रो अटोमोवाइल कम्पनीको वार्षिक खर्च चिप्स लगायत सेमीकन्डक्टरहरुमा मात्र ४ बिलियन डलरको रहेको छ । यस्तो अवस्थामा चिप्स कम्पनीहरुले आफ्नो ठूलो ग्राहकलाई सधै पहिलो छनोटमा राख्नु कुरा कुनै नौलो होइन ।

यदि अटोमोवाइलक कम्पनीलाई पहिलो प्राथमिकतामा राखे पनि लाखौ सर्किटहरुलाई जोडेर बनाइने सानो सिलीकनको टुक्रा आकारको चिप्स बनाउनको लागि कम्पनीहरुलाई २६ हप्ता झण्डै आधा वर्ष लाग्छ । अझ, एउटा कम्प्यूटर चिप्स बनाउन ८ हजार लिटर पानीको आवस्यकता पर्छ । यति धेरै पानीको प्रयोग हुनेहुँदा चिप्सको उत्पादन बढाउन कम्पनीहरुलाई दैनिक करोडौ लिटर पानी थप आवस्यक हुन्छ । यही कारण कम्पनीहरुले चाहेर पनि अटोमोवाइलको चिप्सकाे मागलाई पूर्ती गर्न सक्दैनन् ।

चिप्सको मार्केट शेयर कस्तो छ त ?

भौगोलिक आधारमा सबैभन्दा धेरै सेमीकन्डक्टर तथा चिप्सको उत्पादन एशिया प्यासेफीक क्षेत्रमा हुने गर्छ । चिप्सको उत्पादन गर्ने स्थानलाई फाउण्ड्री भनिन्छ । यस्ता फाउण्ड्रीहरु भियतनाम, ताइवान, चाइना, जापान तथा साउथ कोरियामा धेरै रहेका छन् ।

सन् २०२१ को पहिलो क्वाटरको डाटा अनुसार विश्वको चिप्स तथा सेमीकन्डक्टर मार्केटको सबैभन्दा धेरै ५६ प्रतिशतको बजार हिस्सा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टिएसएमसी)को रहेको छ । त्यसपछि कोरियन कम्पनी सामसुङको हिस्सा करिब १८ प्रतिशत रहेको छ । त्यस्तै ग्लाबल फाउण्ड्री तथा यूएमसीको समान ७ प्रतिशत रहेको छ । बाँकी कम्पनीहरुले १२ प्रतिशत मात्रै चिप्स बनाउने गर्छन् ।

चाइना अमेरिकाको ट्रेडवार सुरु भएसँगै अमेरिकाले यस्ता फाउण्ड्रीको स्थापना अमेरिकामै बढाउँदै लगेको छ । अमेरिकाले आफ्ना उत्पादनहरुमा प्रयोग हुने चिप्स अमेरिका मै उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । उता, चाइनमा पनि सन् २०२१ को सुरुवातसँगै चिप्स डिजाइनिङ तथा म्यानुफ्याक्चरिङको क्षेत्रमा काम गर्ने १५ हजार भन्दा बढि कम्पनीहरु स्थापना भएका छन् ।

जापानले पनि सेमीकन्डक्टर उत्पादनको रिसर्चको लागि ३७ बिलियन जापनीज येनको लगानी गरेको छ । जापानको हिताची हाइटेक कर्पोरेसनले टीएसएमसीसँगको सहकार्यमा उत्पादन गर्ने योजना अघि बढाएको छ । जापानकै अन्य २० कम्पनीहरु समेत यस्ता उत्पादन बढाउन काम गरिरहेका छन् । साउथ कोरियाले पनि यस्ता कम्पनीहरुका लागि ५१० ट्रिलीयन कोरियन वानको कर छुट योजना अघि बढाएको छ । एजेन्सीको सहयोगमा


Back_to_top