काठमाडौं । हुन्डाईले पहिलो पटक आफ्नो माइक्रो एसयूभी ‘क्यास्पर’मा १.० लिटर नेचुरल एस्पायर्ड र १.० टर्बो इन्जिन दिने भएको छ । कोरियन निर्माताले यसको उत्पादन सुरु गर्नु केही दिनअघि यो जानकारी बाहिर आएको हो ।
सेप्टेम्बरबाट उत्पादन सुरु हुने क्यास्पर माइक्रो एसयूभीलाई हुन्डाईले कोरियन बजारबाट विक्री सुरु गर्नेछ । त्यसपछि क्रमशः अन्य विकासशील देशमा यसलाई विक्री गर्ने योजना तयार गरेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।
भारतीय बजारमा क्यास्परको उत्पादन र विक्री दुबै हुनेछ । तर, भारतमा भने १.२ लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टिजिडीआई इन्जिनमा यो गाडी आउने अनुमान गरिएको छ ।
हुन्डाईले बनाएको १.० लिटर इन्जिनले ७६ पीएस पावर र १.० लिटर टर्बो इन्जिनले १०० पीएस पावर प्रदान गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा यसलाई ४ स्पीड अटोमेटीक गियरबक्समा ल्याउने तयारी भइरहेको छ । तर, भारतमा भने ग्राण्ड आई १० नियोसको जस्तै १.२ दिटर इन्जिनको साथ म्यानुयल र अटोमेटीक गियर अप्सनमा आउने अनुमान गरिएको छ ।
कोरियामा विभिन्न समयमा परिक्षणमा देखिएको क्यास्परमा निकै यूनिक डिजाइन देखिएको थियो । गोलो एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, एलइडी टेल लाइट, क्लासिक र बक्सी डिजाइनले गर्दा बजारमा आउनु अघिनै यसको चर्चा बढेको छ ।
सम्भवत सन् २०२२ को पहिलो क्वाटरमा यसलाई भारतमा उत्पादन तयारी भइरहेको छ । भारतमा उत्पादन भएको क्यास्पर नै नेपाली बजारमा आउने अनुमान गर्न सकिन्छ ।

