नेपालका लागि मोटरहेड बाइकहरुको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ टेकन आर-२५० डर्ट बाइक सार्वजनिक गरेको छ । विगत पाँच वर्ष देखि नेपाली बजारमा डर्ट सेग्मेन्टको बाइकको बिक्री गर्दै आएको कम्पनीले स्क्याम्बलर तथा क्रसओभर बाइकहरुको समेत बजार विस्तार गर्दै आएको छ ।
आज राजधानिमा एक कार्यक्रमका बिच टेकन आर-२५० को विक्री सुरुवात भएको हो । टेकन आर-२५० मा २२३ सीसीको इनर व्यालेन्सर इन्जिन रहेको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा १६.७६ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा १७ एमएम टर्क उत्पादन गर्छ । यो बाइकमा कम्पनीले ६ स्पिडको गियरवक्स दिएको छ ।
हेर्दा निकै आकर्षक देखिएको आर-२५० को अधिक्तम गति १२० किलोमिटर प्रतिघण्टा रहेने कम्पनीले जनाएको छ । यो बाइकमा डबल डिस्कब्रेक, कडा च्यासीस, शानदार ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, इनबिल्ट लेगगार्ड र इन्जिन गार्डका साथै आरामदायी सिट जस्ता विशेषता रहेका छन् ।
बिक्री पछिको सेवाको गुणस्तर बृद्धिमा निरन्तर प्रयास गरिरहेको कम्पनीले मोटरहेड चीनसँग समन्वय गरि आउँदा दिनहरुमा नयाँ स्तरमाकाे सेवा मार्फत ग्राहकहरुलाई सन्तुष्टि दिने, कम्पनीका जनरल मेनेजर उज्जवल जोशीले बताए । उनले मोटरहेड मोटरसाइकल नेपालको सबै भूभागको लागि उपयुक्त हनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप, पावर रहेको दाबी समेत गरेका छन्।
दुई फरक आकर्षक रंगमा उपलब्ध याे बाइकको शुरुवाती मूल्य ४ लाख ५ हजार रहेको छ । यो मूल्य सिमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ ।


