काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीपले भारतमा आफ्नो सबैभन्दा कम मूल्यको एसयूभी ल्याउने निश्चित भएको छ । सब फोर मिटर सेग्मेन्टमा ल्याउने एसयूभी कम्पनीको इन्ट्री मोडल हुनेछ ।
अहिले भारतमा कम्पास मोडल उत्पादन गर्दै आएको जीपले सन् २०२२ को सुरुवातमा नै ७ सिट क्षमताको नयाँ मोडल मेरिडियन बजारमा उतार्ने तयारी गरिरहेको छ । मेरिडियन पछि नयाँ सब फोर मिटर एसयूभी बजारमा आउने छ ।

पिएसए ग्रुपको ‘कमन मोडुलर प्लेटफर्म’मा उत्पादन हुने जीपको नयाँ एसयूभीको नाम भने एकिन भएको छैन । ‘कमन मोडुलर प्लेटफर्म’मा सिट्रोन सी थ्रि चाँडै बजारमा आउने तयारीमा छ । जीपले यो एसयूभीमा १.२ लिटर टर्बो इन्जिन प्रदान गर्नेछ । उक्त इन्जिनले अधिकतम १०० पीएस प्रदान गर्ने क्षमता राख्छ ।
विभिन्न रिपोर्टहरुले उल्लेख गरे अनुसार जीप आफ्नो सब फोर मिटर एसयूभी पनि फोर ह्वील ड्राइभ सिस्टममा ल्याउन चाहन्छ । यदि यी हल्लाहरु सहि हुने हो भने ४ मिटरभन्दा छोटा एसयूभीमा फोर ह्वील ड्राइभ सिस्टम दिने जीप पहिलो कम्पनी बन्नेछ ।
लाइफ अटोमोवाइलले नेपालमा जीपको भारतीय उत्पादन र अमेरिकी उत्पादन विक्री गर्दै आएकोले भारतमा नयाँ बन्ने एसयूभीहरु नेपाल आउने पक्का छ ।

