टाटाले तयार गर्‍यो अर्को नयाँ इभी, फुलचार्जमा ४०० किमि रेञ्ज !

काठमाडौं । भारतीय अटो जाइन्ट टाटाले अर्को इलेक्ट्रीक कार तयार गरेको छ । कम्पनीले आफ्नो प्रिमियम ह्याचव्याक कार अल्ट्रोजको इलेक्ट्रीक मोडल लगभग तयार गरेको हो ।

सन् २०२२ को मध्यसम्ममा बजारमा उतार्ने तयारीमा रहेको अल्ट्रोज टाटाको सर्वाधिक ड्राइभिङ रेञ्ज पाइने इलेक्ट्रीक कार हुने अपेक्षा गरिएको छ । यसअघि नेक्सन इभी र टिगोर इभी बजारमा उतारिसकेको कम्पनीले प्रिमियम ह्याचव्याक सेग्मेन्टमा अल्ट्रोज ल्याउने छ ।

टाटाले करिब २ वर्षअघि नै अटो एक्स्पो २०२० मा अल्ट्रोज इभीको कन्सेप्ट सार्वजनिक गरेको थियो । कन्सेप्टमा व्लू एक्सटेरियर र क्रोम इन्सर्टसहित आकर्षक अल्ट्रोज देखिएको थियो ।

टाटाले नेक्सन इभीमा दिएको ३०.२ किलोवाट आवरको व्याट्रीको तुलनामा अल्ट्रोजमा ठूलो व्याट्री रहने विभिन्न रिपोर्टमा उल्लेख छ । कम्पनीले नेक्सनभन्दा पनि सानो साइजको व्याट्री टिगोरमा दिएको थियो । त्यसैले धेरै रेञ्ज चाहने ग्राहक लक्षित गर्दै नयाँ अल्ट्रोजमा व्याट्री साइज बढ्ने अनुमान गरिएको छ । यस विषयमा कम्पनीले भने कुनै आधिकारीक जानकारी दिएको छैन ।

टाटाको जिपट्रोज टेक्नोलोजीमा आधारित रहने अल्ट्रोजले डिसी फास्ट चार्जर सर्पोट गर्ने छ । यसलाई सून्यदेखि ८० प्रतिशत चार्ज केवल ६० मिनेटमा गर्न सकिनेगरी कम्पनीले तयार गर्ने छ ।

टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले अहिले नेक्सन इभी नेपालमा विक्री गर्दै आएको छ । कम्पनीले चाँडै टिगोर इभीको विक्री सुरु गर्ने तयारी गरिरहेको छ । यस्तोमा अल्ट्रोज इभी पनि भारतमा सार्वजनिक भएको केही समयपछि नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top