यस्तो छ रोयल इनफिल्डको स्क्रयाम्वलर मोटरसाइकल

काठमाडौं । रोयल इनफिल्डको नयाँ मोटरसाइकल बजारमा आउने भएको छ । कम्पनीले यसअघि धेरै पटक परिक्षण गरेको ‘रोयल इनफिल्ड स्क्रयाम ४११’ को फिचर सार्वजनिक भएसँगै बजारमा आउन लागेको हो ।

कम्पनीले सार्वजनिक गर्ने तयारी गरेको नयाँ मोटरसाइकल स्क्रयाम्वलर मोटरसाइकल हो । आफ्नो पुरानो मोटरसाइकल हिमालयनमा आधारित रहेर यसलाई निर्माण गरिएको छ ।

अनलाइन मार्फत सार्वजजनिक भएको मोटरसाइकलको फिचर तथा स्पेसिफिकेसनले यसको सबै विषय खुल्ला भएको छ । तस्बिरसहितको ब्रोसरका आधारमा हेर्दा स्क्रयाम ४११ को डिजानइन हिमालयनको जस्तै रहेको छ ।

यद्यपी यसमा थुप्रै परिर्वतन पनि देख्न सकिन्छ । हिमालयनमा रहेको फ्रन्ट फेन्डर, ब्याक फेन्डर र फ्रन्ट सबफ्रेमसमेत हटाइएको छ । त्यस्तै हिमालयनको भन्दा फरक डिजाइनको सिट स्क्रयाम ४११ मा देख्न सकिन्छ । तर यसको एड्भेन्चर मोडलमा भने फ्रन्ट नोचहरु उपलब्ध हुनेछ ।

स्क्रयाम ४११ को अगाडि १९ इन्चको स्पोक ह्वील दिइएको छ । त्यस्तै यसमा वाइडर रोड टायर रहेको छ । यसमा हिमालयनको तुलनामा ग्राउन्ड क्लियरेन्स भने कम भएको छ । हिमालयनमा २२० एमएम रहेको ग्राउन्ड क्लियरेन्स स्क्रयाममा २०० एमएम रहेको छ ।

त्यसैगरी यसमा हिमालयनमा भन्दा फरक सिंगल पड सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रयोग गरिएको छ । जसमा ट्रिपर नेभिगेशन ग्राहकले एशोसरिजका रुपमा खरिद गरेर प्रयोग गर्न सक्नेछन् । यसको ब्रेकिङ सेटअप हिमालयनको जस्तै अगाडि ३०० एमएम र पछाडि २४० एमएमको डिस्क रहेको छ । यसमा डबल च्यानल एबीएस उपलब्ध हुनेछ ।

स्क्रयाम ४११ सीसी एयर/आयल कुल्ड इन्जिनमा आउने छ भने ५ स्पीड गियरबक्स रहनेछ । यो इन्जिनमा कम्पनीले केही परिमार्जन गरेको अनुमान गरिएको छ । यसको एड्भेन्चर मोडलमा रहेको इन्जिनले २४.३ पीएस पावर तथा ३२ एनएम टर्क जेनरेट गर्छ ।

यसलाई रोयल इन्फिल्डले केही हप्ता भित्रै भारतीय बजारमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । कम्पनीले मोटरसाइकलसँगै यसको एशोसरिजसमेत सार्वजनिक गर्नेछ । यो मोटरसाइकलको प्रतिस्पर्धा येज्दी स्क्रयाम्वलर र सिबी ३५० आरएससँग हुनेछ ।


Back_to_top