काठमाडौं । नेपाली बजारमा एड्भेन्चर मोटरसाइकलको बजार बढ्दै गएको समयमा सरकारले २०० सीसी माथिका मोटरसाइकल आयातलाई निरुत्साहन गर्दै कर बढाएको छ । कर बढेसँगै कम बजेटमा उत्कृष्ट मोटरसाइकल किन्न चाहने धेरै मानिसको चाहनामा मूल्य बाधक बनेको छ ।
अहिले एड्भेन्चर सेग्मेन्टमा होन्डा, यामाहा, केटीएम, क्रसफायर, टेकन, हाडफोर्ड, बेनेली, बीएमडब्लू, हाउजे जस्ता ब्राण्डले मोटरसाइकल विक्री गर्दै आएका छन् । बजारमा यति धेरै ब्राण्डका उत्पादन बीच हिरो एक्सपल्स २०० फोर भी सर्वाधिक विक्री हुनुको पछाडि केही खास कारण रहेका छन् ।
हिरो नेपालको लागि निकै पुरानो ब्राण्ड हो । होन्डा र हिरोको संयुक्त लगानीकै समयमा नेपालमा ‘हिरो होन्डा’ परिचित ब्राण्ड थियो । पछि होन्डासँग अलग भएपनि त्यतिबेला हिरो होन्डाको नामबाट आउने सम्पूर्ण मोडल हिरोसँग नै रहेको कारण नेपालमा हिरोको ब्राण्ड नेम, शोरुम, सर्भिस र स्पेयर नेटवर्क कायम रहेको थियो ।
नेपालमा हिरो अहिले पनि राम्रो नेटवर्क भएको ब्राण्ड हो । देशका मुख्य सहर तथा नयाँ बन्दै गरेका सहरमा यसको पहुँच पुगेको छ । विशेषत किफायती मोटरसाइकल विक्री गर्दै आएको हिरो प्रिमियम सेग्मेन्टमा एक्सपल्सबाटै प्रबेश गरेको हो ।
एड्भेन्चर सेग्मेन्टमा आएको एक्सपल्सको सफलतासँगै हाइवे पर्फमेन्सको लागि भन्दै कम्पनीले एक्सपल्स २०० फोरभी नेपाल ल्याएको छ । जसको कारण ग्राहकले यसलाई ‘भ्यालु फर मनी’ मोडलको रुपमा लिएका छन् ।
नेपाली ग्राहकले एक्सपल्स २०० फोरभीलाई निकै मनपराएका छन् । जसको कारण सधै मोटरसाइकल सोल्ड आउट अबस्थामा रहँदै आएको छ । फोरभी भन्ने वित्तिकै मोटरसाइकलमा प्रयोग भएको सिलिण्डरमा ४ वटा भल्भ भन्ने बुझिन्छ । पहिला दुई भल्भबाट ४ भल्भ बनाइएको कारण यसको इन्जिन थप रिफाइन्ड भएर आएको छ । नयाँ मोडलको पावर पनि पहिलेभन्दा १.०२ पीएस बढी छ ।
एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ, अब पहिले जस्तो इन्जिन तात्ने समस्या आउने छैन ।

रेगुलर मोडलको तुलनामा फोर भी निकै आरामदायी रहेको छ । यसको सिट हाइट २ एमएमले बढाइएको छ । साथै, सिटलाई पनि परिमार्जन गरिएको छ ।
हिरोले एक्सपल्समा दिइएको स्टार्ट र किल स्वीचलाई अपग्रेड गरेको छ । साथै, रेगुलर मोडलको तुलनामा धेरै प्रकाश दिने एलइडी हेडलाइट दिएको छ । नयाँ हेडलाइट सेटअपले रातिको समयमा यात्रा गर्नेलाई प्रयाप्त प्रकाश दिनेछ । साथै, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर पनि थप भएको छ ।
एक्सपल्स २०० मा दिएको अगाडि २१ र पछाडि १८ इन्चको रिम ह्वीललाई फोर भीमा पनि निरन्तरता दिएको छ । कम्पनीले सस्पेन्सनमा पनि परिवर्तन गरेको छैन । अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । साथै, मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकलाई निरन्तरता दिइएको छ ।
एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ रहेको छ ।

