टोयोटा BZ4X ईभीमा समस्या, २७ सय कार तत्काल नचलाउन आग्रह

काठमाडौं । विश्व प्रसिद्ध ब्राण्ड टोयोटाले आफ्नो पहिलो इलेक्ट्रीक क्रसओभर BZ4X को विक्री सुरु गरेको केही महिनापछि नै समस्या आएपछि तत्काल ग्राहकलाई यो कार प्रयोग नगर्न भनेको छ ।

टोयोटाको अनुसार BZ4X (बीजेडफोरएक्स)को ह्वील र बडी जोड्ने नट बोल्टमा समस्या आएसँगै तत्काल प्रयोग नगर्न भनेको हो । दुई महिना अघि विक्री सुरु भएको यो क्रसओभर कार अहिलेसम्म २ हजार ७०० यूनिट विक्री भएको छ ।

विक्री भएको संख्या मध्ये सबैभन्दा धेरै यूरोपमा २ हजार २ सय यूनिट, उत्तर अमेरिकामा २८० यूनिट, जापानमा ११० यूनिट र अन्य एशियाली मुलुकमा ६० यूनिट मात्र विक्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

टोयोटाले सुबरुसँग च्याचिस सेयरिङ गरेर तयार गरेको BZ4X (बीजेडफोरएक्स)को जस्तै समस्या सुबरुको सोल्टेरामा पनि आएको थियो । समस्या देखिएपछि सुबरुले त्यसको समाधान तत्कालै गरेको थियो ।

टोयोटाले पनि तत्कालै यसको समाधान हुनेभन्दै ग्राहकलाई गाडी प्रयोग नगर्न र आफ्नो सर्भिस सेन्टरबाट दक्ष जनशक्ति आएर गाडी लैजाने उल्लेख गरेको छ । कम्पनीले ४२ हजार डलर सुरुवाती भेरियन्टको मूल्य राखेर यसको विक्री सुरु गरेको थियो ।

टोयोटाले सन् २०३० सम्ममा वार्षिक ३५ लाख विद्युतीय कार विक्री गर्ने लक्ष्य लिएर ३० भन्दा धेरै मोडल बजारमा ल्याउने जनाएको छ । महत्वाकांक्षी लक्ष्य बोकेको कम्पनीले कुनै किसिमको जोखिम उठाउन चाहेको छैन । त्यसैले कुनै समस्या देखिएको खण्डमा तत्कालै बनाउन गाडी फिर्ता बोलाएको हुनसक्ने अड्कल काटिएको छ ।


Back_to_top