महिन्द्राको एक्सयूभी ७०० लाई ‘सेफर च्वाइस अवार्ड’, चाँडै नेपाल आउने

काठमाडौं । महिन्द्राको नयाँ एसयूभी एक्सयूभी ७०० ले ‘ग्लोवल एनक्यापको सेफर च्वाइस अवार्ड’ जित्न सफल भएको छ । सन् २०२० मा महिन्द्राकै एक्सयूभी ३०० यो अवार्ड जितेको थियो ।

ग्लोबल एनक्यापले निर्धारण गरेको ६६ अंकमा ५७.६९ अंकसहित महिन्द्रा एक्सयूभी ७०० ले सेफर च्वाइस अवार्ड जित्न सफल भएको हो । भारतमा उत्पादन भएका कारहरुलाई सन् २०१८ देखि यो अवार्ड दिन थालिएको हो ।

महिन्द्राले पछिल्ला दिनमा बजारमा ल्याएका गाडीले निकै राम्रो सेफ्टी टेष्टमा नतिजा दिदै आएको छ । कम्पनीले ३ दिनपछि सार्वजनिक गर्ने तयारी गरेको स्कर्पियो एनले पनि क्र्यास टेष्टमा उत्कृष्ट नतिजा ल्याउने अनुमान गरिएको छ ।

अग्नी ग्रुप अन्तर्गतको अग्नी इनकर्पोरेट प्रालिले महिन्द्रा एक्सयूभी ७०० चाँडै नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ । अहिले सरकारले आयात रोकेको कारण मात्रै यो एसयूभी नेपाल आउन नसकेको हो । साउन १ गतेबाट एलसी खुल्ला हुनेहो भने भदौ ७ गतेबाट आयोजना हुने नाडा अटो शो २०२२ मा एक्सयूभी ७०० नेपाल आउने छ ।

यस्तो छ एक्सयूभी ७००

५ र ७ सिट क्षमतामा आएको एक्सयूभी ७०० मा निकै पावर फुल २.२ लिटर टर्बो डिजेल र २.० लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । यसमा रहेको टर्बो पेट्रोल इन्जिनले २०० पीएस र डिजेल इन्जिनले १८५ पीएस पावर प्रदान गर्नेछ । डिजेल इन्जिनको टर्क ४५० एनएम छ भने पेट्रोल इन्जिनको ३८० एनएम रहेको छ ।

सुरुवाती भेरियन्टमा ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम पाउन सकिन्छ भने, टप स्पेकमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । यसमा एड्रोनएक्स कनेक्ट सिस्टममा ६० वटाभन्दा धेरै कनेक्ट फिचर उपलब्ध रहेका छन् । ६ वटासम्म स्पीकर, एलइडी डेटाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील र सनरुफले यो गाडीलाई लोभलाग्दो बनाएको छ ।


Back_to_top