बजाजले दुई नयाँ मोटरसाइकल नेपालमा विक्री सुरु गर्दै

काठमाडौं । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘नाडा अटो शो २०२२’ मा बजाजका दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि आयोजना हुने अटो शोमा पल्सर २५० का दुई मोडल सार्वजनिक गर्ने भएको हो ।

बजाज पल्सर एन २५० र एफ २५० भारतमा विक्री सुरु भएदेखि नै निकै चर्चा कमाउन सफल भएको मोडल हुन् । यी दुबै मोडल नयाँ जेनेरेशन पल्सरको प्रतिबिम्ब पनि हुन् । यसमै आधारित रहेर कम्पनीले पुराना मोडलको अपग्रेड सुरु गरिसकेको छ ।

अटो शो २०२२ मा बजाजका यी दुबै मोटरसाइकल अबलोकनकर्तालाई मुख्य आकर्षणको रुपमा रहने अनुमान गर्न सकिन्छ । विषेशगरी यूवाहरुको रोजाइ पर्दै आएको पल्सर सिरिज पावरको लागि परिचित मोडल हो । प्रिमियम ब्राण्ड केटीएमबाट प्रेरित इन्जिन भएको कारण बजाजका मोटरसाइकल अत्याधिक पावरफुल हुन्छन् ।

बजाज पल्सर एन २५० पल्सर एनएस २०० जस्तै एग्रेशिभ नेकेड स्ट्रीट फाइटर मोटरसाइकल हो । तर, पल्सर एफ २५० सेमी फियर्ड डिजाइनमा रहेको छ । यसको सिटिङ पोस्चर पल्सर २२० एफको भन्दा कम्र्फटेवल रहेको बताइन्छ ।

२५० सीसी क्षमताका मोटरसाइकल खोज्ने ग्राहकको लागि नाडा अटो शो २०२२ को पहिलो रोजाइ बजाज पल्सर २५० सिरिज हुने पक्का जस्तै छ ।

पल्सर २५० सिरिजमा २४९ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन रहेको छ । यसले २४.१ बीएच पावर तथा २१.५ एनएमटर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

नेपालमा यो मोटरसाइकलको प्रतिस्पर्धा यामाहा एफजेड २५० र सुजुकी जिक्सर २५० सँग हुनेछ । बजाज पल्सर २५० सिरिजको मूल्य ४ लाख ३० हजार रुपैयाँबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।

अहिले बजारमा उपलब्ध यामाहा एफजेड २५ को मूल्य ४ लाख ७५ हजार र सुजुकी जिक्सरको मूल्य ४ लाख ९७ हजार रुपैयाँ रहेको छ ।


Back_to_top